सट्टेबाजी एप र वेबसाइटहरु बन्द गरेर जानकारी गराउन दूरसञ्चार प्राधिकरणको सेवा प्रदायकहरुलाई निर्देशन

  • Technology Khabar | १५ चैत्र २०८२, आईतवार
सट्टेबाजी एप र वेबसाइटहरु बन्द गरेर जानकारी गराउन दूरसञ्चार प्राधिकरणको सेवा प्रदायकहरुलाई निर्देशन

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले सबै दूरसञ्चार सेवा प्रदायकहरुलाई सट्टेबाजी एप (Betting App) र त्यससम्बन्धी वेबसाइटहरु बन्द गरेर जानकारी गराउन निर्देशन दिएको छ।

दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणले मोबाइल तथा इन्टरनेट (इमेल सहित ) सेवा प्रदायकहरु सबैलाई एउटै किसिमको पत्र पठाएर सो निर्देशन दिएको हो।

टेक्नोलोजीखबरले पाएको उक्त पत्रमा सरकारको शासकीय सुधार सम्बन्धी सय बुँदे कार्यसूचीको बारेमा उल्लेख गर्दै सोहीअनुसार निर्णय भएको भन्दै निर्देशन दिएको जानकारी लेखिएको छ।

नियामकले त्यस्ता सट्टेबाजी एप (Betting App) त्यससम्बन्धी वेवसाइटहरु २४ घण्टाभित्र बन्द गर्ने प्रावधान लेखिएको भन्दै बन्द गरेपछि जानकारी गराउन समेत निर्देशन दिएको छ।

“… सञ्चार तथा सूचना प्रबिधि मन्त्रालयको प.सं. ०८२/८३ च.नं. प्रेस / १९९१ मिति २०८२/१२/१५ गतेको (माननीय मन्त्रीस्तर) निर्णयबाट लेखि आएकोले त्यस्ता सट्टेबाजी एप (Betting App) र त्यस सम्बन्धी वेबसाइटहरु तत्काल बन्द गरी सोको जानकारी यस प्राधिकरणमा गराउनुहुन गराईन्छ,” पत्रमा भनिएको छ।

यसअघि सञ्चार मन्त्रालयले प्राधिकरणलाई निर्देशन दिँदै सट्टेबाजी एप (Betting App) र त्यस सम्बन्धी वेबसाइटहरु तत्काल बन्द गराउन भनेको थियो। सोहीअनुसार प्राधिकरणले आफ्नु मातहत इजाजत प्राप्त सेवा प्रदायकहरुलाई निर्देशन दिएको हो।

प्रकाशित: १५ चैत्र २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार