
काठमाडौं ।
राइड शेयरिङ कम्पनीहरूले मनोमानी भाडा निर्धारण गरेको र राइडरहरूको श्रम शोषण गरेको भन्दै ‘प्रो राइडर समूह’ले चरणवद्ध आन्दोलन शुरु गरेको घोषणा गरेको छ।
समूहले राइड शेयरिङ्ग एपहरूले प्रतिकिलोमिटर २७ रुपैयाँको समान भाडादर अनिवार्य रूपमा लागू गर्नुपर्ने माग गरेको छ।
समूहले राइड शेयरिङ क्षेत्रमा भएको अन्यायपूर्ण भाडादर, श्रम शोषण कम्पनीको मनोमानीपूर्ण व्यवहार लगायतका विषयहरुलाई उल्लेख गर्दै आन्दोलन गरेको बताएको छ।
उनीहरुले आईतबार काठमाडौंको बल्खुमा सामूहिक धर्ना दिएर विरोध जनाएका छन्। यसका साथै समूहले चरणबद्ध आन्दोलन गर्ने तालिका समेत सार्वजनिक गरेको छ।
यसैगरी समूहले अन्तिम विकल्पका रूपमा राइड शेयरिङ सेवा पूर्ण बन्द गर्ने उनीहरुको चेतावनी छ।
विभिन्न योजना, बोनस वा ‘गोल ट्रिप’का नाममा राइडरहरूको भाडादर घटाउने वा बढाउने कार्य तुरुन्त बन्द गरिनुपर्ने उल्लेख गरेका छन्।
नेपालमा आधिकारिक रूपमा दर्ता नभएका राइड शेयरिङ कम्पनीहरूलाई तत्काल नियमनको दायरामा ल्याई सञ्चालनमा रोक लगाउनुपर्ने, विदेशी राइड शेयरिङ एपहरूलाई स्पष्ट नियम कानूनभित्र ल्याइनुपर्ने लगायतका थप मागहरु रहेका छन्।
प्रकाशित: १५ चैत्र २०८२, आईतवार