
काठमाडौं ।
सरकारले देशमा उद्यमशीलता प्रवर्द्धन, लगानी वातावरण सुधार तथा व्यवसाय दर्ता प्रक्रियालाई सरल, छिटो (दुई दिनभित्र) र झन्झटरहित बनाउन “स्टार्टअप फास्ट ट्रयाक” प्रणाली लागू गर्ने लक्ष्य लिएको छ।
सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गर्दै उक्त लक्ष्य लिएको हो। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक गरिएको हो।
यसअन्तरगत साना तथा मझौला उद्योग, कृषि तथा सूचना प्रविधि क्षेत्रको ऋणप्रवाहमा हाल रहेको जोखिम भार घटाई उपयुक्त तहमा झार्ने व्यवस्था नेपाल राष्ट्र बैकले ३० दिनभित्र मिलाउने उल्लेख छ।
व्यवसाय दर्ता, कर दर्ता, बैंक खाता तथा अन्य आवश्यक अनुमति लिनुपर्ने विषयलाई एकीकृत गरी ४५ दिनभित्र ‘वान डोर बिजनेश प्लेटफर्म’ मार्फत सेवा उपलब्ध गराउने योजना छ भने सेवा प्रवाहको क्रममा सम्पूर्ण प्रक्रिया डिजिटल, पारदर्शी तथा ट्रयाकिङयोग्य बनाई कार्यान्वयनका लागि कानुनी, प्राविधिक तथा प्रक्रियागत सुधार तत्काल लागू गर्ने लक्ष्य छ।
यसैगरी, देशमा रोजगारी सिर्जना, सीप विकास तथा उद्यमशीलता प्रवर्द्धनलाई एकीकृत रूपमा सुदृढ गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी), श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानलगायतका संस्थाहरूले संयुक्त रूपमा कार्य गर्नेगरी रोजगार सेवा केन्द्रहरूलाई ६० दिनभित्र ‘रोजगार, सीप तथा उद्यमशीलता केन्द्र’ का रूपमा रूपान्तरण गर्ने कार्यसूचीमा छ।
सरकारले कम्पनी रजिष्ट्रार कार्यालय, उद्योग विभाग र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा रहेका उद्योग व्यवसायसँग सम्बन्धित विवरणहरू स्वचालित रूपमा आदान प्रदान हुने प्रणाली दुई महिनाभित्र विकास गर्ने योजना लिएको छ भने कम्पनी तथा उद्योग दर्ता र आयात/निर्यात सम्बन्धमा सेवाग्राहीलाई आवश्यक जानकारी तथा सहजीकरण गर्न निःशुल्क परामर्श सेवा डेस्क स्थापना गर्ने, डिजिटल प्रणाली विकास गरी बिचौलियाको संलग्नता अन्त्य गर्ने कार्य १५ दिनभित्र गर्ने लक्ष्य छ।
साथै तीनै तहका सरकारी निकायबाट दर्ता भएका उद्योग, व्यवसाय तथा फर्महरूको तथ्यांकलाई अद्यावधिक गरी ‘रियल टाइम डेटा’ लिने प्रणाली तीन महिनाभित्र विकास गर्ने कार्यसूचीमा भनिएको छ।
प्रकाशित: १५ चैत्र २०८२, आईतवार