‘हाम्रो सबैभन्दा ठूलो धर्म राजनीति र प्रशासनप्रति घट्दो विश्वास पुनःस्थापित गर्नु हो’ -नवनियुक्त सञ्चारमन्त्री तिमल्सिना

  • Technology Khabar | १३ चैत्र २०८२, शुक्रबार
‘हाम्रो सबैभन्दा ठूलो धर्म राजनीति र प्रशासनप्रति घट्दो विश्वास पुनःस्थापित गर्नु हो’ -नवनियुक्त सञ्चारमन्त्री तिमल्सिना
सञ्चारमन्त्री डा तिमिल्सिना काठमाडौँ १३ चैतः सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिना शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहणपछि स्वागत कार्यक्रममा धारणा राख्नुहुँदै । तस्बिरः चन्द्रकला क्षेत्री÷रासस

काठमाडौं ।

नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले पदभार ग्रहणगर्दै कर्मचारी र मातहतका निकायका प्रमुख तथा प्रतिनिधिलाई सम्बोधन गर्दै मन्त्री डा तिमिल्सिनाले पद प्राप्तिभन्दा जिम्मेवारी पूरा गर्नु नै आफ्नो प्राथमिकता भएको बताए। उनले देशले निकास खोजिरहेको उल्लेख गर्दै राजनीति र प्रशासनप्रति घट्दो विश्वास पुनःस्थापित गर्न सबैलाई आह्वानसमेत गरे।

सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज उनले पदबहाली गरेका हुन्।

“हामीले जिम्मेवारी लिएका छौँ, हाम्रो सबैभन्दा ठूलो धर्म राजनीति र प्रशासनप्रति घट्दो विश्वास पुनःस्थापित गर्नु हो”, डा तिमिल्सिनाले भने, “राजनीति नै गलत हो भन्ने सन्देश प्रवाह भइरहेको अवस्थालाई सुधार्दै देशमा आशा जगाउनुपर्छ।”

डा तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र शाहको ‘मिसन’ र ‘भिजन’अनुसार मन्त्रालयले पूर्ण सहयोग गर्ने उल्लेख गरे। कर्मचारीलाई पनि इमानदारिता र क्षमता प्रयोग गर्दै सामूहिक भावनाका साथ काम गर्न उनले आग्रहसमेत गरे। “तपाईँका हरेक विचारहरू यो देशका नीतिनियम, ऐनसँग बाझिने पनि हुनुहुँदैन। यो देशका जनताको सपनासँग बाझिने पनि हुनुहुँदैन। कृपया यो कुरा मनमा राखेर आफ्ना काम कर्तव्यलाई अगाडि बढाउनु होला”, मन्त्री तिमिल्सनाले भने।

उनले आजैका दिनदेखि आफ्नो कर्तव्यमा होमिएका र देशलाई अगाडि बढाउनका लागि समर्पित भएर लाग्ने धारणा राखे।

मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले मन्त्रालयका प्रमुख कार्य र मुख्य नीति तथा योजना र कानुनबारे मन्त्रीलाई ‘ब्रिफिङ’ गरिन्। “बजेट सिलिङ प्राप्त भइसकेको छ। बजेट तर्जुमा, प्राथमिकता निर्धारणलगायत काम मन्त्रीको निर्देशनमा गर्नेछौँ”, उनले भनिन्।

नवनियुक्त मन्त्रीलाई मन्त्रालयका कर्मचारी र मातहतका पदाधिकारीहरुले स्वागत एवं कार्यकालको शुभकामना व्यक्त गरेका थिए। रासस

प्रकाशित: १३ चैत्र २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार