
काठमाडौं ।
सरकारले २०८२ साल भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गरेको छ। जेनजी आन्दोलनको अवधिमा आयोगले १ लाख ७४ हजार ४२० ओटा मोबाईल नम्बरहरुको विश्लेषण गरिएको उल्लेख छ।
सरकारले सार्वजनिक गरेको २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोग, २०८२ को प्रतिवेदनले विभिन्न स्थानमा रहेका नेपाल टेलिकम र एनसेल आजियाटाका बिटिएस टावरहरुको डाटा समेत विश्लेषण गरेको देखिएको छ।
उक्त अवधिमा देशका विभिन्न स्थानहरुमा भएका घटनाहरुमा देशभर तोडफोड एंव आगजनी, महत्वपुर्ण सरकारी प्रतिष्ठान, कार्यालयहरु, व्यक्तिगत घरहरु र व्यापारिक प्रतिष्ठानहरुको भौतिक क्षति भएको घटना सम्बन्धमा तत्काल घटना स्थलमा उपस्थित मानिसहरुले प्रयोग गरेका मोबाइल नम्बरहरुको (सेल आईडी) प्राविधिक अनुसन्धानतर्फ उक्त स्थानहरुको बिटिएसको विश्लेषण गरेको हो।
आयोगकाअनुसार, डाटा माग गरी हेरेका मध्य देश भरिका १५ जिल्लाका सरकारी कार्यालय, राजनैतिक दलका प्रमुख तथा नेतृत्वहरुको निजी निवास, तत्कालिन मन्त्रीहरुका निजी निवास, सर्वसाधारणहरुका ब्यक्तिगत सम्पती, उद्योग तथा ब्यापारिक प्रतिष्ठान आदी मुख्य-मुख्य क्षति भएका स्थानहरु छनोट गरी सो अनुसार डाटा माग गरी हाल सम्म प्राप्त भएका डाटा नेपाल टेलिकम र एनसेल दुबै सेवा प्रदायकहरुको गरी जम्मा १ लाख ७४ हजार ४२० ओटा मोबाईल नम्बरहरुको विश्लेषण गरिएको छ।
आयोगले उक्त अवधिमा उपत्यका भित्र र बाहिर दुबै स्थानका बिटिएस डाटाहरु विश्लेषण गरेको बताएको छ। जसमध्ये काठमाडौं भित्र नेपाल टेलिकमको नेटवर्कमा ३० हजार ७२३ मोबाइल नम्बरलाई हेरेको छ भने उपत्यका बाहिर १० जिल्लाका ६८ हजार ३१७ नम्बरको विश्लेषण गरेको छ।
यसैगरी एनसेल नेटवर्कमा उपत्यका भित्र १२ हजार ५३८ ओटा नम्बर सम्पर्कमा रहेको देखिएको छ भने उपत्यका बाहिर १० जिल्लाहरुमा ३९ हजरा २१२ एनसेल नम्बर सक्रिय भएको भेटिएको छ।
यस्तै केपी शर्मा ओली, शेर बहादुर देउवा, पुष्प कमल दाहाल र गगन थापाको घर भएको क्षेत्रमा ८ हजार ५९८ मोबाइल नम्बरको अध्ययन गरेको छ भने उपेन्द्र महतो, शेखर गोल्छा, विनोद चौधरी, हिल्टन होटल, कान्तिपुर प्रकाशन, भाटभटेनी सुपर मार्ट क्षेत्रमा त्यस अवधिमा कुल १५ हजार ३२ मोबाइल नम्बरहरुको बिश्लेषण गरेको उल्लेख छ।
यस बाहेक आयोगले उपत्यका भित्रका र बाहिरका सरकारी कार्यालयहरु संसद भवन प्रधानमन्त्री निवास वरिपरिका क्षेत्रहरुमा सक्रिय रहेका मोबाइल नम्बरहरु समेतको अध्ययन गरेको छ।
प्रकाशित: ११ चैत्र २०८२, बुधबार