
काठमाडौं ।
नेपाल टेलिकमको मोबाइल प्रयोग गरी आजदेखि डेनमार्क र दक्षिण कोरियामा समेत अन्तर्राष्ट्रिय भोल्टे रोमिङ (International VoLTE Roaming) सेवा प्रयोग गर्न सकिने भएको छ। यसका लागि नेपाल टेलिकम र डेनमार्कको टेलिनोर डेनमार्क तथा दक्षिण कोरियाको एसके टेलिकम बिच सम्झौता सम्पन्न भएको छ।
यो सेवा क्यानडा, अमेरिका, अष्ट्रेलिया, लक्जेमबर्ग, इजरायल र ताइवान–आरओसीमा पहिले देखि नै उपलब्ध छ। यस अनुसार अब ८ देशमा भोल्टी रोमिङ सेवा प्रयोग गर्न सकिने भएको छ। नेपाल टेलिकमले यसका लागि ती देशका ९ सेवा प्रदायकसँग सम्झौता गरेको छ।
विदेशमा समेत नेपाल टेलिकमको मोबाइल सेवा प्रयोग गरी नेपालकै जस्तो भ्वाइस, डाटा र एसएमएस सेवा प्रयोग गर्न सकिने प्रविधिलाई रोमिङ सेवा भनिन्छ। अन्तर्राष्ट्रिय भोल्टी रोमिङ सेवामा एचडी गुणस्तरको भ्वाइस कल गर्न सकिने कम्पनीले भनेको छ।
भोल्टी अर्थात भ्वाइस ओभर एलटीई नेपाल टेलिकमले राष्ट्रिय स्तरमा पहिले देखि नै उपलब्ध गराइरहेको सेवा हो। यसका लागि मोबाइलमा यो सेवा एक्टिभेट गरेको हुनुपर्छ भने मोबाइल सेट पनि यो सेवा चल्ने हुनुपर्छ।
आफ्नो मोबाइलको स्क्रिनको माथिल्लो भागमा एचडी वा भोल्टे लेखेको छ भने सो मोबाइल सेटमा भोल्टी सेवा प्रयोग गर्न सकिन्छ भन्ने थाहा हुन्छ। यदि छैन भने *444# डायल गरी’Activate VoLTE’ विकल्प छान्नु पर्छ र त्यसपछि यो सेवा सुचारु हुने जारी विज्ञप्तीमा उल्लेख छ।
प्रकाशित: १० चैत्र २०८२, मंगलवार