
काठमाडौं ।
अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) कारोबारमा संलग्न रहेको अभियोगमा ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-१३ एकान्तकुना बस्ने भारत पश्चिम बंगाल राज्य मोदिनीपुर मोयना थाना उत्तर श्रीकण्ठा ग्राम घर भएका ४१ वर्षीय प्रवेश अली, काठमाडौं महानगरपालिका-६ बौद्ध जोरपाटी बस्ने बाँके नेपालगंज उपमहानगरपालिका-२० घर भएका ३१ वर्षीय नरेश रेउले र ललितपुर महालक्ष्मी नगरपालिका-२५ नख्खु बस्ने सर्लाही ईश्वरपुर नगरपालिका-३ भक्तिपुर घर भएका ३० वर्षीया दिप्ती पोखरेल रहेका छन्।
हुण्डी तथा अभौतिक मुद्रा समेतको अवैध कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नरेशलाई काठमाडौं महानगरपालिका-२६ सामाखुशीबाट पक्राउ गरेको थियो।
सोधपुछको क्रममा उनले दिप्ती र प्रवेशको लागि यूएसडीटी खरिद बिक्री गर्ने गरेको भन्ने खुल्न आए पश्चात दिप्तीलाई काठमाडौं महानगरपालिका-२६ सामाखुशीस्थित रेडहनपुलबाट नगद १५ लाख ३० हजार रूपैयाँ सहित र प्रवेशलाई ललितपुर महानगरपालिका-१३ एकान्तकुनाबाट प्रहरीले पक्राउ गरेको हो।
प्रारम्भिक अनुसन्धानको क्रममा प्रवेशले आफ्नो मोबाइलबाट बाइनान्स आईडी (BINANCE ID) प्रयोग गरी हाल सम्म १ अर्ब ३६ करोड ८० लाख ४५ हजार ५ सय ८० रूपैयाँ ४ पैसा रकम बराबरको कारोबार गरेको खुल्न आएको छ।
उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको जनाएको छ।
प्रकाशित: १० चैत्र २०८२, मंगलवार