
काठमाडौं ।
नेपाली चलचित्रलाई प्रविधिमैत्री बनाउने उद्देश्यले काठमाडौँमा ‘सिनेम्याटिक एआईः फ्रम स्क्रिप्ट टु स्क्रिन विथ आर्टिफिसियल इन्टेलिजेन्स’ विषयक दुईदिने कार्यशाला सुरु भएको छ।
चलचित्र विकास बोर्ड र नेपाल एआई फिल्म एलायन्स (नाइफा)को सहकार्यमा आयोजित उक्त कार्यशालामा दुई सय बढी चलचित्रकर्मीको सहभागिता रहेको छ।
चावहिलस्थित चलचित्र विकास बोर्डको प्रेक्षालयमा सञ्चालन भइरहेको कार्यशालाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले एआईले चलचित्र क्षेत्रमा नयाँ सम्भावना सृजना गरेको बताए। उनले एआईको प्रयोगसँगै मानवीय सृजनशीलताको भूमिका अझ महत्त्वपूर्ण हुने धारणा व्यक्त गरे।
त्यसैगरी, नाइफाका अध्यक्ष करूण थापाले एआईले फिल्म निर्माणलाई सर्वसुलभ बनाएको बताईन। उनका अनुसार पहिले फिल्म बनाउन ठूलो बजेट, उपकरण र जनशक्ति आवश्यक पर्ने भए पनि अहिले ‘आइडिया’ र इन्टरनेटको सहायताले कोठामै बसेर पनि चलचित्र निर्माण सम्भव भएको उल्लेख गरिन्।
कार्यशालामा सहभागीहरूलाई आइडियाबाट स्क्रिप्ट, स्क्रिप्टबाट इमेज, इमेजबाट भिडियो र अन्ततः पूर्ण चलचित्र तयार पार्ने प्रक्रियाबारे अभ्यास गराइएको छ। साथै साउन्ड डिजाइन, सम्पादन, कलर करेक्सन तथा भिएफएक्समा एआईको प्रयोगबारे पनि जानकारी दिइएको छ। कार्यक्रममा नाइफाका तर्फबाट करुण थापा, शिव पुरी, मौसम पुरी र अजय शर्माले दुई दिनसम्म प्रशिक्षण दिनेछन्। रासस
प्रकाशित: ९ चैत्र २०८२, सोमबार