
काठमाडौं ।
सोनी प्लेस्टेशनका प्रमुख प्रणाली आर्किटेक मार्क सेर्नीले एक अन्तर्वार्तामा कम्पनीले प्लेस्टेशनमा एआई–संचालित फ्रेम जेनेरेसन प्रदान गर्न एएमडीसँग नजिकबाट काम गरिरहेको बताएका छन्।
साथै अधिक शक्तिशाली हार्डवेयरमा भर नपरीकन फ्रेम दर सुधार गर्नु मुख्य लक्ष्य भएको उल्लेख गरिएको छ।
सोनी र एएमडी पहिले नै प्रोजेक्ट एमेथिस्टमा काम गरिरहेका छन् र यो प्लेस्टेशनको हार्डवेयरको लागि विशेष रूपमा ट्युन गरिएको ग्राफिक्स मेसिन लर्निङ प्रविधि भएको बताइएको छ।
एएमडीको आगामी एफएसआर रेडस्टोन सुइटले परियोजनाको जग बसालेर केवल अपस्केलिंग मात्र नभइ फ्रेम जेनेरेसन र रे रिकन्सट्रकसन (पुनर्निर्माण) पनि प्रदान गर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
चाखलाग्दो कुरा के छ भने हाल अवस्थित प्लेस्टेशन स्पेक्ट्रल सुपर रिजोल्युसन सुविधाले पहिले नै एएमडीको एफएसआर रेडस्टोनसँग केही मुख्य तत्वहरू साझा गर्दछ। त्यसकारण, यो बिल्कुल नयाँ नहुने तर हालको प्रविधिमा सुधार हुने उल्लेख गरिएको छ।
मार्क सेर्नीले एआई–संचालित सुविधा चाँडै आउने अपेक्षा नगरिएको र यो वर्ष भित्रमा आउने सम्भावना नभएको बताएका छन्। यद्यपि, सोनी र एएमडीले पहिले नै जग बसालिसकेको स्पष्ट भइसकेको र अर्को वर्ष यो सुविधाको झलक हेर्न पाउने आशा गरिएको छ।
प्रकाशित: ९ चैत्र २०८२, सोमबार