
काठमाडौं ।
विश्वव्यापी कम्पनी याङ्गो ग्रुप अन्तर्गतको याङ्गो राइडले हालै काठमाडौंमा बाइक चालकहरूका लागि सडक सुरक्षा तथा ट्राफिक नियमसम्बन्धी ओरियन्टेसन कार्यक्रम आयोजना गरेको छ।
यस कार्यक्रमको उद्देश्य सुरक्षित सवारी अभ्यास प्रवर्द्धन गर्नु, ट्राफिक नियमप्रति सचेतना बढाउनु तथा चालक र यात्रुको सुरक्षाको महत्वलाई अझ मजबुत बनाउनु हो। सो अवसरमा याङ्गो राइडले सहभागी चालकहरूलाई हेल्मेट तथा अन्य सुरक्षात्मक सामग्री पनि वितरण गरेको थियो।
काठमाडौं उपत्यकामा बढ्दो सडक दुर्घटना र जोखिमलाई मध्यनजर राख्दै यो कार्यक्रम आयोजना गरिएको हो, जहाँ बाइक चालक तथा राइड–हेलिङ सेवासँग आबद्ध चालकहरूले ट्राफिक नियमको उल्लङ्घन, तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति तथा असुरक्षित व्यवहारका कारण जोखिम सामना गरिरहेका हुन्छन्।
कार्यक्रममा ट्राफिक नियमको पालना, दुर्घटना न्यूनीकरण, जिम्मेवार सवारी सञ्चालन तथा यात्रुप्रति सम्मानजनक व्यवहारबारे प्रशिक्षण प्रदान गरिएको थियो।
याङ्गो राइड नेपालका कन्ट्री म्यानेजर सन्तोष पाण्डेले भने, “हाम्रो लागि ग्राहक र पार्टनर चालक दुवैको सुरक्षा पहिलो प्राथमिकता हो। काठमाडौं उपत्यका ट्राफिक प्रहरीसँगको सहकार्यमा सडक सुरक्षा प्रवर्द्धन गर्न पाउँदा हामी आभारी छौं। यस पहलमार्फत सुरक्षित सवारी अभ्यासलाई प्रवर्द्धन गर्दै दुर्घटना न्यूनीकरण र सुरक्षित शहरी यातायात वातावरण निर्माणमा सहयोग पुर्याउने हाम्रो लक्ष्य हो।”
काठमाडौं उपत्यका ट्राफिक प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नवराज अधिकारीले सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको पालना र सुरक्षित सवारी बानी अपनाउनु आवश्यक रहेको बताए। उनले चालकहरूलाई जिम्मेवार र सम्मानजनक व्यवहार अपनाउन पनि आग्रह गरे।
आयोजकहरूले यस्ता कार्यक्रमहरूले चालक र यात्रुबीच विश्वास बढाउने, यातायात सेवाप्रति भरोसा सुदृढ गर्ने तथा ई-ड्राइभ नेपाल र फर्च्युन ब्रिजलाई सुरक्षा केन्द्रित साझेदारका रूपमा स्थापित गर्न सहयोग पुग्ने बताएका छन्।
प्रकाशित: ८ चैत्र २०८२, आईतवार