सिक्सजी भविष्यमा सफ्टवेयर अपडेट जस्तै हुनेछ: एनभिडिया

  • Technology Khabar | ७ चैत्र २०८२, शनिबार
सिक्सजी भविष्यमा सफ्टवेयर अपडेट जस्तै हुनेछ: एनभिडिया

काठमाडौं ।

टेलिकम कम्पनीहरूले एआई आरएएन प्रविधि अपनाएको खण्डमा सिक्सजी भविष्यमा सफ्टवेयर अपडेट जस्तै हुने एनभिडियाले दावी गरेको छ।

यसै महिनाको सुरुमा भएको एमडब्लूसी कार्यक्रममा एनभिडिया ले टेलिकम क्षेत्रका लागि आफ्नो नयाँ एआई आरएएन अवधारणाबारे जानकारी दिएको थियो, साथै नोकियासँगको सहकार्यबारे पनि चर्चा गरेको थियो।

एमडब्लूसी अघि एनभिडियाले ‘स्टेट अफ एआई इन टेलिकम्युनिकेशन्स’ प्रतिवेदन सार्वजनिक गरेको थियो, जसमा १,०३८ जना पेशेवर सहभागी थिए। यसमा ९० प्रतिशतले एआई ले आम्दानी बढाउन र लागत घटाउन मद्दत गरेको बताएका छन् भने ७७ प्रतिशतले सिक्सजी अघि नै एआई-आधारित नेटवर्क सुरु हुने अपेक्षा गरेका छन्।

कार्यक्रममा एनभिडियाले नेटवर्कमा एआई को प्रयोग बढाउनुपर्नेमा जोड दिएको थियो। कम्पनीले नोकियासँग मिलेर एआई-आधारित रेडियो एक्सेस नेटवर्क (आरएएन) विकासमा काम गरिरहेको छ। दुवै कम्पनीले टी-मोबाइलसँग मिलेर एज एआई नेटवर्कमार्फत नयाँ प्रयोग पनि गरिरहेका छन्।

एनभिडिया का एआई/फाइभजी/टेलिकम प्रमुख सोमा वेलायुतमका अनुसार अहिलेका नेटवर्कहरू एआई आउनु अघि बनाइएका हुन्, जबकि अबको फाइभजी एडभान्स्ड र सिक्सजीले एआई ट्राफिक सम्हाल्नुपर्नेछ।

उनले भने, “पहिले नेटवर्क आवाज र डाटा लागि बनाइन्थ्यो, तर अहिले एआई का लागि फरक किसिमको ट्राफिक आउँछ। अब ‘सर्च र रेस्पोन्स’ होइन, ‘प्रम्ट र जेनेरेट’ हुने भएको छ।”

उनका अनुसार भविष्यको नेटवर्क पूर्ण रूपमा सफ्टवेयरमा आधारित हुनेछ, जसले एआई लाई सजिलै प्रयोग गर्न मिल्ने बनाउनेछ। एनभिडियाले ‘एरियल आरएएन कम्प्युटर’ नामको प्रणाली पनि विकास गरेको छ, जसले टेलिकम उद्योगका लागि विशेष कम्प्युटिङ प्लेटफर्म प्रदान गर्ने बताइएको छ।

तर टेलिकम कम्पनीहरूमा जीपीयू प्रयोग महँगो र धेरै ऊर्जा खपत हुने भन्ने चिन्ता रहेको उनले स्वीकार गरे। उनले भने एनभिडिया ले कम ऊर्जा प्रयोग गर्ने जीपीयू पनि विकास गरेको छ र बजारलाई यसबारे बुझाउन प्रयास भइरहेको छ।

एनभिडिया र नोकियाबीचको सहकार्य निकै नजिकको रहेको पनि उनले बताए। “हामी दिनमा धेरैपटक कुरा गर्छौं। उनीहरूले हामीलाई टेलिकम आवश्यकताबारे सिकाउँछन्, र हामी उनीहरूलाई नयाँ कम्प्युटिङ समाधान दिन्छौं,” उनले भने। सिक्सजी बारे बोल्दै उनले भने, “यदि तपाईंले एआई आरएएन अपनाउनुभयो भने सिक्सजी मुख्यतः सफ्टवेयर अपडेट मात्र हुनेछ।”

उनका अनुसार सिक्सजीमा म्यासिभ एमआईएमओ (धेरै एन्टेना प्रयोग) र उच्च स्पेक्ट्रम प्रयोग हुनेछ जसले कम्प्युटिङ आवश्यकतालाई धेरै बढाउनेछ र जीपीयू प्रयोग अझ महत्त्वपूर्ण बनाउनेछ।

त्यस्तै आईएएससी (इन्टिग्रेटेड सेन्सिङ एण्ड कम्युनिकेशन) प्रविधिले रेडियो सिग्नल प्रयोग गरेर वस्तु पहिचान गर्ने क्षमता दिनेछ, जसमा एआई को भूमिका महत्वपूर्ण हुनेछ।

उनले आईएएससीको प्रयोग विशेषगरी रक्षा क्षेत्रमा र नेटवर्कको कार्यक्षमता सुधार गर्न उपयोगी हुने बताए।

प्रकाशित: ७ चैत्र २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...