
काठमाडौं ।
समग्र बजार भने घटे पनि एप्पलले सन् २०२६ को पहिलो नौ हप्तामा चीनमा स्मार्टफोन बिक्री २३ प्रतिशतले बढाएको छ।
अनुसन्धान संस्था काउन्टरपोइन्टका अनुसार जनवरीदेखि मार्चको सुरुवातसम्म चीनको स्मार्टफोन बजार ४ प्रतिशतले घटेको छ। वर्षको सुरुमै दिइएको सरकारी अनुदानले पनि उपभोक्ता माग खासै बढाउन सकेन। एप्पलको बिक्री वृद्धि अनलाइन छुट र आधारभूत आईफोन १७ मा सरकारी अनुदान लागू हुनुले भएको हो।
रिपोर्टका अनुसार एप्पलसँग आपूर्ति श्रृंखला मजबुत भएकाले मेमोरी चिपको बढ्दो लागतको असर कम पर्ने रोयटर्सले उल्लेख गरेको छ। यसले गर्दा कम्पनीले मूल्य नबढाई प्रतिस्पर्धीभन्दा फाइदा लिन सक्ने बताइएको छ। काउन्टरपोइन्टले भनेको छ, “एप्पलले मूल्य नबढाई केही नाफा घटाएर बजार हिस्सा बढाउने रणनीति अपनाउन सक्छ।”
मेमोरी चिप महँगो हुँदै जाँदा चिनियाँ एण्ड्रोइड कम्पनीहरू ओप्पो र भिभोले केही पुराना मोडेलको मूल्य बढाउने घोषणा गरेका छन्। यो कदम नयाँ फोन सार्वजनिक गर्नुअघि उपभोक्ताको प्रतिक्रिया बुझ्नका लागि पनि भएको बताइएको छ।
यता ह्वावेले भने घरेलु आपूर्तिकर्ता प्रयोग गर्ने भएकाले कम लागतको फाइदा लिन सक्ने र विशेषगरी सस्तो तथा मध्यम श्रेणीको बजारमा आफ्नो हिस्सा बढाउन सक्ने अनुमान गरिएको छ।
काउन्टरपोइन्टका अनुसार मार्चदेखि मेसम्म चीनको बजारमा दबाब रहनेछ। जुन महिनाको सुरुमा हुने “६१८” किनमेल उत्सवले केही राहत दिन सक्ने अपेक्षा गरिएको छ।
समग्रमा मेमोरी चिपको लागत वृद्धि सन् २०२६ भरि रहने अनुमान गरिएको छ, जसले स्मार्टफोन कम्पनीहरूलाई लागत नियन्त्रण, नाफा जोगाउने र बिक्री लक्ष्य पूरा गर्नेबीच सन्तुलन मिलाउन चुनौती दिनेछ।
प्रकाशित: ६ चैत्र २०८२, शुक्रबार