अमेरिकी नौसेनाले फ्लीट मर्मतसम्भारलाई प्रभावकारी बनाउन गेको रोबोटिक्ससँग गर्यो हालसम्मकै ठूलो रोबोटिक्स सम्झौता

  • Technology Khabar | ५ चैत्र २०८२, बिहीबार
अमेरिकी नौसेनाले फ्लीट मर्मतसम्भारलाई प्रभावकारी बनाउन गेको रोबोटिक्ससँग गर्यो हालसम्मकै ठूलो रोबोटिक्स सम्झौता

काठमाडौं ।

अमेरिकी नौसेनाले आफ्नो फ्लीट मर्मतसम्भारलाई प्रभावकारी बनाउन रोबोट प्रयोग बढाउने लक्ष्यसहित अहिलेसम्मकै ठूलो रोबोटिक्स सम्झौता गरेको छ।

पिट्सबर्गस्थित रोबोट र सेन्सर बनाउने कम्पनी गेको रोबोटिक्सले अमेरिकी नौसेना र अमेरिकी सामान्य सेवा प्रसाशन (जीएसए) सँग पाँच वर्षे आईडीआईक्यू (इन्डेफिनिट डेलिभरी, इन्डेफिनिट क्वाण्टिटी) सम्झौतामा हस्ताक्षर गरेको कम्पनीले मंगलबार जनाएको छ। उक्त सम्झौताको सुरुवाती मूल्य ५४ मिलियन डलर रहेको छ भने अधिकतम सीमा ७१ मिलियन डलर राखिएको छ।

नौसेनाले गेकोका रोबोट र सेन्सर प्रयोग गरेर आफ्ना जहाज तथा अन्य सम्पत्तिको अवस्था र ‘हेल्थ’ निगरानी गर्नेछ जसको सुरुवात अमेरिकी प्रशान्त फ्लीटका १८ जहाजबाट हुनेछ।

गेकोका संस्थापक तथा सीईओ जेक लूजारेरियनले बताएअनुसार कम्पनीका रोबोटहरूले जहाजका हरेक कुनाकाप्चामा पुगेर विस्तृत डिजिटल ट्विन भनिने डिजिटल प्रतिरूप तयार पार्ने टेकक्रञ्चले उल्लेख गरेको छ।

कम्पनीको सफ्टवेयरले यी सम्पत्तिको निगरानी गर्न र मर्मतसम्भारका लागि सिफारिस दिन सहयोग गर्नेछ, जसले समस्या आउनुअघि नै समाधान गर्न र समय तथा लागत घटाउन मद्दत गर्नेछ।

“रोबोटिक प्रणालीमार्फत यी सम्पत्तिको अवस्था र वातावरणकै डिजिटल रूप तयार भएपछि निर्णय लिन र मर्मत गर्न सक्ने गति बढाउन सकिन्छ,” लुसारारियनले भने। “हामी यस्तो ‘जीवित’ मोडल बनाउन चाहन्छौं जसले यी सम्पत्तिहरू लामो समय सेवा बाहिर बस्नुपर्ने अवस्थालाई घटाउँछ।”

यो सम्झौता नौसेनालाई सन् २०२७ सम्म ८० प्रतिशत जहाज तयारी अवस्थामा राख्ने लक्ष्य हासिल गर्न सहयोग गर्ने उद्देश्यले गरिएको हो। हाल भने लामो मर्मत प्रक्रियाका कारण कुनै पनि समयमा करिब ४० प्रतिशत जहाज प्रयोग बाहिर रहने गरेका छन्।

“हरेक वर्ष करिब १३ अर्बदेखि २० अर्ब डलरसम्म मर्मतमा खर्च हुन्छ,” लुसारारियनले भने। “जब हरेक सम्पत्ति आवश्यक हुन्छ, त्यो निकै महत्वपूर्ण विषय हो। यी सम्पत्तिहरू पनि पुराना हुँदै गइरहेका छन्।”

गेको पछिल्लो चार वर्षदेखि अमेरिकी नौसेनासँग काम गर्दै आएको छ। जापानमा कार्यरत एक पोर्ट इन्जिनियरले कम्पनीबारे जानकारी लिन सम्पर्क गरेपछि गेकोले मूल्यांकन गरी पूर्वनियोजित मर्मत योजना तयार पारेको थियो। त्यसबाट प्रभावित भएपछि दुवै पक्षबीच सहकार्य बढ्दै गएको र अन्ततः मंगलबारको सम्झौतामा पुगेको हो।

“हामीले महत्वपूर्ण सम्पत्तिहरू सकेसम्म लामो समयसम्म चलिरहून् र कहिल्यै बन्द नहोस् भन्ने सुनिश्चित गर्न सहयोग गरिरहेका छौं,” लुजारेरियनले भने। “म यस्तो भविष्य चाहन्छु जहाँ जहाजहरू लामो मर्मत प्रक्रियामा जानु नपरोस्, किनकि तिनीहरू प्रयोगमै हुँदा के बिग्रिएको छ र के सुधार गर्नुपर्छ भन्ने थाहा हुन्छ। यही मेरो भविष्यको दृष्टि हो।”

 

प्रकाशित: ५ चैत्र २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार