
काठमाडौं ।
एनभिडियाले चीनमा आफ्नो दोस्रो सबैभन्दा शक्तिशाली एआई चिप एच२००० बिक्री गर्न बेइजिङको अनुमति पाएको स्रोतहरूले बताएका छन्। साथै कम्पनीले चिनियाँ बजारका लागि ग्रोक एआई चिपको विशेष संस्करण पनि तयार गरिरहेको छ।
यो लामो समयदेखि प्रतिक्षा गरिएको नियामक स्वीकृतिले एनभिडियालाई एच२००० चिपको बिक्री पुनः सुरु गर्न बाटो खुलाएको छ। यो चिप अमेरिका–चीन सम्बन्धमा संवेदनशील विषय बनेको छ। चीन एक समय एनभिडियाको कुल आम्दानीको करिब १३ प्रतिशत हिस्सा दिने बजार थियो।
चिनियाँ कम्पनीहरूबाट उच्च माग र अमेरिकी निर्यात अनुमति भए पनि चीनले आयातमा देखाएको ढिलाइका कारण एच२००० चिप आपूर्तिमा अवरोध भएको थियो।
रोयटर्सकाअनुसार मंगलबार एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङले चीनका धेरै ग्राहकका लागि एच२००० चिपको अनुमति प्राप्त भएको र धेरै कम्पनीबाट अर्डर आएको बताए। यसले उत्पादन पुनः सुरु गर्न सहयोग गरेको उनले बताए। उनले पत्रकार सम्मेलनमा “हाम्रो आपूर्ति शृंखला फेरि सक्रिय हुँदैछ,” भने।
अमेरिका र चीन दुवैको नियामक अवरोध बढेपछि कम्पनीले गत वर्ष यस चिपको उत्पादन रोकेको थियो। एनभिडिया लामो समयदेखि दुवै देशबाट अनुमति पर्खिरहेको थियो। स्रोतका अनुसार अहिले उसले अमेरिकाबाट केही स्वीकृति पाइसकेको छ भने चीनबाट पनि धेरै ग्राहकका लागि अनुमति प्राप्त भएको छ।
वाशिङ्टनस्थित चिनियाँ दूतावासका एक प्रवक्ताले यसबारे आफूलाई विस्तृत जानकारी नभएको भन्दै सम्बन्धित निकायसँग सोध्न सुझाव दिएका छन्। अमेरिकी सञ्चारमाध्यम सीएनबीसीका अनुसार पनि हुआङले कम्पनीले अमेरिका र चीन दुवैबाट अनुमति पाइसकेको बताएका छन्। एक चिनियाँ कम्पनीका स्रोतले अन्तिम स्वीकृति भएकोबारे निश्चित नभए पनि एनभिडियाले अर्डर गर्न सकिने जानकारी दिएको बताए।
गत महिना यूएस सेक्युरिटिज एण्ड एक्सचेञ्ज कमिशनमा गरिएको फाइलिङमा एनभिडियाले फेब्रुअरीमा अमेरिकाबाट अनुमति पाएको र यसले चीनका केही ग्राहकलाई सीमित मात्रामा एच२००० चिप आपूर्ति गर्न सकिने जनाएको थियो।
प्रकाशित: ५ चैत्र २०८२, बिहीबार