
काठमाडौं ।
एनभिडिया, टी-मोबाइल र नोकियाले फिजिकल एआई प्रवर्द्धनका लागि सहकार्य गरेका छन्।
एनभिडिया र टी-मोबाइल ले नोकिया तथा विभिन्न डेभलपरहरूसँग मिलेर वितरित एज एआई नेटवर्कमार्फत फिजिकल एआई एप्लिकेसनहरू ल्याउने काम गरिरहेका छन्।
यो परियोजनाको उद्देश्य एआई-आरएएन पूर्वाधारले कसरी वायरलेस नेटवर्कलाई उच्च क्षमतायुक्त वितरित एज एआई कम्प्युटिङ प्लेटफर्ममा रूपान्तरण गर्न सक्छ भन्ने देखाउनु हो, जसले डेभलपरहरूलाई भौतिक संसार बुझ्ने भिजन एआई एजेन्टहरू प्रयोग गर्न सक्षम बनाउनेछ।
टेलिकम्स डटकमकाअनुसार टी-मोबाइल अमेरिकामा एनभिडियाको एआई-आरएएन पूर्वाधारलाई नोकियाको एनीआरएएन सफ्टवेयरसँग प्रयोग गर्ने पहिलो अपरेटर हो। अहिले कम्पनीले विभिन्न फिजिकल एआई साझेदारहरूसँग मिलेर सेल साइट र मोबाइल स्विचिङ अफिसहरूबाट एज एआई कार्यभार सञ्चालन गर्न सकिने देखाउन काम गरिरहेको छ।
कम्पनीहरूका अनुसार कम ढिलाइ, सुरक्षित र सर्वव्यापी कनेक्टिभिटी अभाव एक मुख्य चुनौती हो, जसलाई एआई-आरएएन प्रविधिले समाधान गर्ने लक्ष्य राखेको छ। वाई-फाईको पहुँच र सुरक्षामा सीमा रहेको बताइएको छ भने टी-मोबाइलको फाइभजी नेटवर्कले सहर, उद्योग र ग्रामीण क्षेत्रमा जटिल एआई एजेन्ट सञ्चालनका लागि आवश्यक गुणस्तरीय सेवा दिन सक्ने दाबी गरिएको छ।
यस प्रविधिले डिभाइसबाट भारी कम्प्युटेसन नजिकको एज स्थानमा सार्न सक्ने भएकाले क्यामरा र रोबोट जस्ता उपकरणको हार्डवेयर आवश्यकता घटाउन सहयोग पुग्ने बताइएको छ। यसले अरबौं उपकरणमा एआई मोडेललाई किफायती रूपमा विस्तार गर्न सकिने अपेक्षा गरिएको छ।
एनभिडियाले मेट्रोपोलिस भीएसएस ३ ब्लुप्रिन्ट पनि सार्वजनिक गरेको छ जसले एजदेखि क्लाउडसम्म भिडियो डाटा विश्लेषण गर्न सहयोग गर्नेछ। क्याटरपिलर, हिटाची, एचसीएलटेक र सिमेन्स एनर्जीलगायत कम्पनीहरूले यसलाई प्रयोग गरिरहेका छन्।
यसअन्तर्गत केही डेभलपरहरूले भिडियो खोज र सारांश (भीएसएस) प्रविधिमा काम गरिरहेका छन्। लिङ्क्डइन, इङ्कोर र भोक्सेलम्याप्सले ट्राफिक व्यवस्थापन सुधार गर्न “सिटी अपरेसन एजेन्ट” परीक्षण गरिरहेका छन्, जसले ट्राफिक लाइट समय अनुकूलन गरी घटनामा प्रतिक्रिया समय पाँच गुणासम्म छिटो बनाउन लक्ष्य राखेको छ।
लेभाटास र स्काइडियोले फाइभजी मार्फत विद्युत् प्रसारण लाइनको निरीक्षण स्वचालित बनाउन काम गरिरहेका छन्, जसले ढल्किएका पोल, जंग र तापीय समस्या पत्ता लगाउन सहयोग गर्नेछ। यसैगरी भाइडियोले सुरक्षा निगरानी र पूर्वानुमान प्रणाली विकास गरिरहेको छ भने फग्स्फियरले जोखिमयुक्त निर्माण क्षेत्रमा सुरक्षा एआई एजेन्ट प्रयोग गर्ने परीक्षण गरिरहेको छ।
एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङले दूरसञ्चार नेटवर्कहरू अब एआई पूर्वाधारमा रूपान्तरण हुँदै गएको बताएका छन्। टी-मोबाइल का प्रमुख कार्यकारी अधिकृत श्रीनि गोपालनले पनि फिजिकल एआईको पूर्ण सम्भावना उपयोग गर्न अल्ट्रा-लो लेटेन्सी र उन्नत नेटवर्क आवश्यक रहेको बताए।
यो घोषणा एनभिडिया जीटीसी कन्फ्रेन्सका क्रममा गरिएको हो, जहाँ अन्य धेरै एआईसम्बन्धी घोषणाहरू पनि भएका छन्। एनभिडियाले रोबोटिक्स विकासका लागि नयाँ आइज्याक सिमुलेसन फ्रेमवर्क, कस्मस र आईज्याक ग्रूट मोडेलहरू पनि सार्वजनिक गरेको छ जसले “रोबोट ब्रेन” र उन्नत रोबोटिक बुद्धिमत्ता विकासमा सहयोग गर्ने बताइएको छ।
यसैबीच क्वालकमले पनि नयाँ रोबोटिक्स आर्किटेक्चर घोषणा गरेको छ भने बोस्टन डाइनामिक्सले एटलस ह्युमनोइड रोबोटको नयाँ संस्करण प्रदर्शन गरेको छ।
यससँगै फिजिकल एआई आगामी समयको प्रमुख प्रविधि बन्ने संकेत देखिएको छ।
प्रकाशित: ५ चैत्र २०८२, बिहीबार