गुगल फाइबर निजी इक्विटी कम्पनी स्टोनपीकलाई बेचिने

  • Technology Khabar | ३ चैत्र २०८२, मंगलवार
गुगल फाइबर निजी इक्विटी कम्पनी स्टोनपीकलाई बेचिने

काठमाडौं ।

गुगल फाइबर (अहिले आधिकारिक रूपमा जीफाइबर) लाई निजी इक्विटी कम्पनी स्टोनपीकलाई बेचिने भएको छ र यसलाई केबल तथा फाइबर इन्टरनेट कम्पनी अस्टाउण्ड ब्रोडब्याण्डसँग गाभिने भएको छ। यस गाभाइपछि ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी बन्ने अपेक्षा गरिएको छ।

अल्फाबेटले बुधबार घोषणा गर्दै जी फाइबरमा अब थोरै स्वामित्व मात्र राख्ने जनाएको छ। जी फाइबर सन् २०२१ मा ठूलो योजना सहित सुरु भएको थियो तर सन् २०१६ मा विस्तार योजनाहरू घटाइएको थियो।

अल्फाबेट र अस्टाउण्डका मालिक स्टोनपीकले जी फाइबर र अस्टाउण्ड ब्रोडब्याण्डलाई गाभ्ने सम्झौता भएको जानकारी दिएका छन्। यसबाट नयाँ कम्पनी फाइबर इन्टरनेट सेवा दिने स्वतन्त्र प्रमुख प्रदायक बन्ने बताइएको छ। गाभिएको कम्पनीमा बहुसंख्यक स्वामित्व स्टोनपीकको हुनेछ।

यो सम्झौता अझै नियामक निकायको स्वीकृति लगायत अन्य प्रक्रिया पूरा भएपछि मात्र लागू हुनेछ। सम्झौता यस वर्षको चौथो त्रैमासिकमा पूरा हुने अपेक्षा गरिएको छ। बिक्री मूल्य भने सार्वजनिक गरिएको छैन।

कम्पनीका अनुसार यस सम्झौताले जी फाइबरलाई सञ्चालन र वित्तीय रूपमा अझ स्वतन्त्र बन्न मद्दत गर्नेछ र आगामी विस्तारका लागि आवश्यक बाह्य लगानी र रणनीतिक सहयोग प्राप्त हुनेछ। गाभिएपछि नयाँ कम्पनीको नाम जीफाइबर, अस्टाउण्ड वा अन्य केही हुने भन्ने अझै स्पष्ट छैन। तर नयाँ कम्पनीको नेतृत्व जी फाइबरकै हालको कार्यकारी टोलीले गर्ने बताइएको छ।

अल्फाबेटका अध्यक्ष तथा प्रमुख लगानी अधिकारी रुथ पोरातका अनुसार यो गाभाइले जी फाइबरलाई अमेरिकाका अझ धेरै स्थानमा इन्टरनेट सेवा विस्तार गर्न मद्दत गर्नेछ, साथै यसको उत्कृष्ट ग्राहक सेवा कायम रहने अपेक्षा गरिएको छ।

स्टोनपीकका वरिष्ठ प्रबन्ध निर्देशक एण्ड्र्यु टमसले पनि अल्फाबेटसँग सह-लगानीकर्ता भएर कम्पनीलाई समर्थन गर्न उत्साहित रहेको बताएका छन्।

प्रकाशित: ३ चैत्र २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...