अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा

  • Technology Khabar | २ चैत्र २०८२, सोमबार
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा

काठमाडौं ।

राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा उपलब्ध हुने भएको छ ।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा कृष्णप्रसाद पौडेल र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरेबीच आज राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा प्रवाह गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

बोर्डका सूचना अधिकारी विकेश मल्लले समझादारीअनुसार राष्ट्रिय परिचयपत्र नम्बरमार्फत नागरिकको पहिचान डिजिटल रूपमा प्रमाणीकरण गरी स्वास्थ्य बीमा प्रणालीलाई अझ सुरक्षित, छिटो, विश्वसनीय बनाइने बताए।

“अहिलेको सम्झौताअनुसार बोर्ड र विभागको तथ्याङ्कलाई एकीकृत गर्नेछौँ”, उनले भने, “त्यसपछि हामीले राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा प्रवाह गर्नेछौँ ।” उनले आगामी चैत २५ गतेदेखि राष्ट्रिय परिचयपत्रका आधारका दर्ता र नवीकरण हुने बताए।

स्वास्थ्य बीमा बोर्डमा अहिले एक करोड दुई लाख विमित आबद्ध रहेका छन्। अहिले नागरिकता र चालक अनुमतिपत्रका आधारमा स्वास्थ्य बीमा गर्ने गरिएको छ।

सूचना अधिकारी मल्लले राष्ट्रिय परिचयपत्रले बीमा दर्ता, नवीकरण तथा सेवा प्राप्त प्रक्रियालाई सरल बनाउँदै तथ्याङ्क एकीकरण, दोहोरो दर्ता नियन्त्रण र सेवा प्रवाहलाई प्रभावकारी बनाइने बताए। रासस

प्रकाशित: २ चैत्र २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार