चीनद्वारा नयाँ भूउपग्रह ‘याओगान–५०–०२’ प्रक्षेपण

  • Technology Khabar | २ चैत्र २०८२, सोमबार
चीनद्वारा नयाँ भूउपग्रह ‘याओगान–५०–०२’ प्रक्षेपण

काठमाडौं ।

चीनले उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन भूउपग्रह प्रक्षेपण केन्द्रबाट आइतबार सफलतापूर्वक नयाँ स्याटेलाइट ‘याओगान–५०–०२’ प्रक्षेपण गरेको छ।

उक्त भूउपग्रहलाई राति ९ः२२ बजे स्थानीय समयअनुसार परिमार्जित लङ मार्च–६ वाहक रकेटमार्फत अन्तरिक्षमा पठाइएको हो । प्रक्षेपणपछि भूउपग्रहले आफ्नो निर्धारित कक्षमा प्रवेश गरिसकेको र सम्पूर्ण प्रक्षेपण अभियान पूर्ण सफल भएको जानकारी चीनको अन्तरिक्ष विभागले दिएको छ।

‘याओगान–५०–०२’ भूउपग्रहको मुख्य उद्देश्य भू–सर्वेक्षण, बाली उत्पादनको अनुमान र प्राकृतिक विपद् रोकथाम तथा राहत कार्यमा सहयोग पु¥याउनु रहेको छ । यसले चीनमा कृषि, वातावरण व्यवस्थापन, भू–संपदा निगरानी र विपद् व्यवस्थापन क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

यो प्रक्षेपण लङ मार्च वाहक रकेट श्रृंखलाको ६३३औँ उडान अभियान भएको बताइएको छ। लङ मार्च रकेट श्रृंखला चीनको अन्तरिक्ष कार्यक्रमका मुख्य स्तम्भमध्ये एक मानिन्छ र यसले भूउपग्रह प्रक्षेपण र अन्तरिक्ष अन्वेषणका विभिन्न परियोजनाहरूमा महत्वपूर्ण भूमिका खेलेको छ।

चीनले पछिल्ला वर्षहरूमा आफ्नो अन्तरिक्ष कार्यक्रममा तीव्र प्रगति गरिरहेको छ। यस प्रक्षेपणसँगै चीनले आफ्नो भूउपग्रह क्षमता बलियो बनाउँदै वैश्विक भू–सर्वेक्षण, कृषि तथा आपत्कालीन व्यवस्थापन क्षेत्रमा उच्च स्तरको डाटा उपलब्ध गराउने लक्ष्य राखेको छ।

प्रक्षेपणको क्रममा प्रयोग गरिएको परिमार्जित लङ मार्च–६ रकेटले स्याटेलाइटलाई सुरक्षित रूपमा निर्धारित कक्षमा पुर्याएको र आगामी समयमा यसले नियमित रूपमा जानकारी संकलन गरी चीनको नीति तथा अनुसन्धान क्षेत्रमा सहयोग पुर्याउने बताइएको छ।

यस प्रक्षेपणले चीनको अन्तरिक्ष कार्यक्रमको दायरा र क्षमतामा थप विस्तार गरेको देखिन्छ, साथै देशको सामरिक तथा वैज्ञानिक भूउपग्रह प्रणालीमा आत्मनिर्भरता बढाउने दिशामा ठूलो कदम भएको विश्लेषकहरूले बताएका छन् । रासस/सिन्ह्वा

प्रकाशित: २ चैत्र २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...