
काठमाडौं ।
नेपाल–भारत उद्योग वाणिज्य मण्डल (एनआईसीसीआई) ले हालै काठमाडौंस्थित दुसित प्रिन्सेस होटलमामा “स्टार्टअप संवाद राउन्डटेबल” कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा उद्यमी, शैक्षिक क्षेत्रका नेतृत्वकर्ता तथा उद्योग विशेषज्ञहरू सहभागी भई नेपालका स्टार्टअपहरूको वास्तविक अवस्थाबारे छलफल गरेका थिए। साथै स्टार्टअप क्षेत्रलाई संस्थागत सहयोग र नीति–स्तरमा पैरवी गर्ने उपायहरूबारे पनि विचार आदानप्रदान गरिएको थियो।
कार्यक्रमको अध्यक्षता एनआईसीसीआई को स्टार्टअप तथा प्राइभेट इक्विटी समितिका संयोजक एवं उपाध्यक्ष कुनाल कयालले गरेका थिए। यो कार्यक्रम युवाहरूको विदेश पलायन कम गर्न स्वदेशमै उद्यमशीलता वातावरण बलियो बनाउने एनआईसीसीआईको पहलअन्तर्गत आयोजना गरिएको बताइएको छ।
कार्यक्रममा सहभागीहरूले स्टार्टअपहरूको विकासमा अवरोध पुर्याउने विभिन्न संरचनात्मक समस्याहरू औंल्याए। विशेष गरी पूर्वाधार र सरकारी खरिद प्रणाली प्रमुख चुनौतीका रूपमा उठाइयो।
एग्रो रेञ्ज नेपालका सुबास पाण्डे र दियो ए.आई. का विजय भट्टराईले परीक्षण प्रयोगशाला तथा अनुसन्धान पार्कहरूको अभाव रहेको बताए। उनीहरूले सरकारी खरिद प्रणालीमा आयातित वस्तुलाई प्राथमिकता दिइने भएकाले स्वदेशी नवप्रवर्तनलाई प्राथमिकता दिने नीति आवश्यक रहेको बताए।
उद्यमीहरूले अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली प्रयोग गर्न कठिनाइ, विदेशबाट लगानी ल्याउन जटिल प्रक्रिया, तथा बौद्धिक सम्पत्ति र पेटेन्ट सुरक्षाको कमजोर व्यवस्था पनि प्रमुख चुनौती भएको बताए।
अन्तरिक्ष प्रविधिका लागि आवश्यक विशेष सामग्री ल्याउन कठिनाइदेखि आईटी सेवाहरूलाई “लक्जरी” जस्तो व्यवहार गरिने धारणा समेत परिवर्तन गर्नुपर्नेमा उनीहरूले जोड दिए। साथै, सरकारले स्वदेशी समाधानहरूको “प्रारम्भिक प्रयोगकर्ता” बन्नुपर्ने आवश्यकता औंल्याइयो।
एनआईसीसीआईका उपाध्यक्ष गौरव तयालले नेपालमा नवप्रवर्तन गर्ने युवाहरूको ठूलो सम्भावना भए पनि उनीहरूलाई संरचित मार्गदर्शन र सहज “एक्जिट मेकानिजम” आवश्यक रहेको बताए।
कुसोमकी रोशी लामिछाने तथा नेपाल च्याम्बर अफ कमर्श संघ र तथा नेपाल उद्योग परिसंघका प्रतिनिधिहरूले नेपालको स्टार्टअप इकोसिस्टम खण्डित रहेको बताए।
उनीहरूले इन्क्युबेसन कार्यक्रमहरू भए पनि ती प्रायः अलग–अलग संस्थामा सीमित रहेको उल्लेख गरे। एनआईसीसीआई स्टार्टअप समितिका सदस्य सन्दीप कामतले सिङ्गापुर र बेंगलोरजस्ता सफल स्टार्टअप केन्द्रहरूसँग तुलना गर्दै नेपालले आफ्नो प्रवासी नेपाली नेटवर्क प्रयोग गर्न र विश्वविद्यालय तथा उद्योगबीच सहकार्य बलियो बनाउनुपर्ने बताए।
अध्यन्ताका निश्चल सिंह भण्डारीले धेरै स्टार्टअपहरू लगानी आकर्षित गर्नुअघि वित्तीय संरचना सुधार गर्नुपर्ने “इन्भेस्टमेन्ट रेडीनेस ग्याप” रहेको बताए।
कार्यक्रमको समापनमा कयालले आज उठाइएका विषयहरू नीति–निर्माण तहसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरे। “आज छलफल भएका विषयहरू—नियामकीय अवरोधदेखि बजारमा विश्वास निर्माणसम्म—हामीलाई स्पष्ट कार्यदिशा दिएका छन्,” उनले भने। एनआईसीसीआई ले नेपाल–भारत व्यापारिक सहकार्यलाई अझ मजबुत बनाउँदै स्टार्टअपहरूलाई विस्तार गर्न सहयोग गर्ने उनले बताए।
यस कार्यक्रममा सहभागी स्टार्टअपहरूले हालै मद्रासको इण्डसयन इन्स्टिच्युट अफ टेक्नोलोजीद्वारा भारत सरकारको सहयोगमा आयोजित विशेष प्रशिक्षण तथा मेंटरशिप कार्यक्रममा समेत सहभागिता जनाएका थिए जसले नेपाल–भारतबीचको उद्यमशील सहकार्यलाई थप बलियो बनाएको बताइएको छ।
प्रकाशित: २ चैत्र २०८२, सोमबार