टिकटकको अमेरिकी सम्पत्ति किनबेचको मध्यस्थता वापत ट्रम्प प्रशासनले १० अर्ब डलर पाउने

  • Technology Khabar | २ चैत्र २०८२, सोमबार
टिकटकको अमेरिकी सम्पत्ति किनबेचको मध्यस्थता वापत ट्रम्प प्रशासनले १० अर्ब डलर पाउने

काठमाडौं ।

बाइटडान्सको स्वामित्वमा रहेको टिकटकले जनवरीमा अमेरिकामा आफ्नो व्यवसायका लागि बहुमत अमेरिकी स्वामित्व भएको ज्वाइन्टभेञ्चर कम्पनी बनाउने सम्झौता अन्तिम रूप दिएको थियो। यो कदम अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने सम्भावना टार्न तथा अमेरिकी प्रयोगकर्ताको डाटा सुरक्षित गर्नका लागि गरिएको हो।

नयाँ कम्पनी टिकटक यूएसडीएस ज्वाइन्ट भेञ्चर एलएलसीले अमेरिकी प्रयोगकर्ताको डाटा, एप र एल्गोरिदमलाई डेटा गोपनीयता र साइबर सुरक्षा उपायमार्फत सुरक्षित राख्ने बताइएको छ। तर कम्पनीले टिकटकको स्वामित्व हस्तान्तरण सम्बन्धी विस्तृत विवरण सार्वजनिक गरेको छैन।

रोयटर्सका अनुसार अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सेप्टेम्बरमा उक्त नयाँ अमेरिकी कम्पनीको मूल्य करिब १४ अर्ब डलर हुने बताएका थिए।

सम्झौता अनुसार प्रशासनसँग नजिक मानिएका लगानीकर्ताहरूले टिकटकको अमेरिकी सञ्चालन नियन्त्रण लिएका हुन्। यस क्रममा ओर्याकल, सिल्भर लेक र अबुधाबीको एमजीएक्सलगायतका लगानीकर्ताहरूले सम्झौता सम्पन्न हुँदा अमेरिकी कोष विभागलाई करिब २.५ अर्ब डलर भुक्तानी गरेका छन्। पछि थप किस्ताबन्दीमा रकम तिर्दै कुल रकम १० अर्ब डलर पुग्ने बताइएको छ।

टिकटक र ह्वाइट हाउसले यस विषयमा तत्काल प्रतिक्रिया दिएका छैनन्।
प्रशासनका अधिकारीहरूका अनुसार टिकटकको अमेरिकी सञ्चालन बचाउन, चीनसँग वार्ता अगाडि बढाउन र राष्ट्रिय सुरक्षासम्बन्धी चिन्तालाई सम्बोधन गर्न डोनाल्ड ट्रम्पले महत्वपूर्ण भूमिका खेलेकाले यस्तो शुल्क उचित ठहर गरिएको छ।

यता यसै महिनाको सुरुआतमा, टिकटकका दुई प्रतिस्पर्धी सामाजिक सञ्जालमा लगानी गरेका खुद्रा लगानीकर्ताहरूले उक्त सम्झौता रद्द गराउन माग गर्दै डोनाल्ड ट्रम्प र अमेरिकी महान्यायाधिवक्ता पाम बोण्डीविरुद्ध मुद्दा दायर गरेका छन्।

प्रकाशित: २ चैत्र २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार