
काठमाडौं ।
अमेरिकी सेनाले रक्षा प्रविधि स्टार्टअप एण्ड्युरिल इण्डस्ट्रिजसँग अधिकतम २० अर्ब डलरसम्मको १० वर्षे सम्झौता गरेको घोषणा गरेको छ।
अमेरिकी सेनाले शुक्रबार राति जारी गरेको घोषणाअनुसार सम्झौता सुरुमा पाँच वर्षको “बेस पिरियड” बाट सुरु हुनेछ र त्यसपछि थप पाँच वर्षका लागि विस्तार गर्ने विकल्प पनि रहनेछ। सम्झौतामा एण्ड्युरिलका हार्डवेयर, सफ्टवेयर, पूर्वाधार र सेवाहरू समावेश छन्।
सेनाका अनुसार यो सम्झौता एउटै उद्यमस्तरको सम्झौता हो, जसले पहिले एण्ड्युरिल का व्यावसायिक समाधान खरिद गर्न गरिएका “१२० भन्दा बढी छुट्टाछुट्टै खरिद प्रक्रिया”लाई एकीकृत गर्नेछ।
“आधुनिक युद्धक्षेत्र अहिले बढ्दो रूपमा सफ्टवेयरद्वारा परिभाषित हुँदै गएको छ,” अमेरिकी रक्षा विभागको मुख्य सूचना अधिकारीको कार्यालयमा प्रमुख प्रविधि अधिकारी रहेका गेब चिउलीले विज्ञप्तिमा भने। “हाम्रो अग्रता कायम राख्न हामीले छिटो र प्रभावकारी रूपमा सफ्टवेयर क्षमता खरिद र प्रयोग गर्न सक्नुपर्छ।”
एण्ड्युरिलका सह–संस्थापक पाल्मर लकी यसअघि भर्चुअल रियालिटी स्टार्टअप ओक्युलस भीआरलाई मेटा प्लेटफर्म्स(तत्कालीन फेसबुक) लाई बिक्री गरेका कारण चर्चित थिए। एक समाचार रिपोर्टपछि उनले ट्रम्प समर्थक राजनीतिक समूहलाई दान दिएको विवाद उठेपछि फेसबुकले उनलाई कम्पनीबाट हटाएको थियो।
लकीले आफूका राजनीतिक विचारहरू मिडियाले गलत रूपमा प्रस्तुत गरेको दावी गर्दै आएका छन्।
तर द न्युयोर्क टाइम्समा प्रकाशित हालैको एक रिपोर्टअनुसार लकी र एण्ड्युरिललाई सेकेण्ड ट्र्म्प एडमिनिस्ट्रेशनले समर्थन गरेको छ, किनकि उनले स्वचालित लडाकु विमान, ड्रोन, पनडुब्बी लगायत प्रयोग गरेर अमेरिकी सेनालाई पुनः संरचना गर्ने दृष्टिकोण प्रस्तुत गरेका छन्।
“द लर्ड अफ द रिङ्स” मा रहेको जादुई वस्तुबाट प्रेरित नाम राखिएको यो कम्पनीले गत वर्ष करिब २ अर्ब डलर आम्दानी गरेको बताइएको छ।
अलग–अलग रिपोर्टहरूका अनुसार एण्ड्युरिल अहिले ६० अर्ब डलर मूल्यांकनमा नयाँ लगानी संकलन गर्ने वार्तामा पनि रहेको छ।
यो घोषणा त्यस्तो समयमा आएको हो जब अमेरिकी रक्षा विभाग र एन्थ्रोपिकबीच विवाद चलिरहेको छ। असफल सम्झौता वार्तापछि आफूलाई सप्लाइ–चेन जोखिमका रूपमा चिन्हित गरिएको भन्दै एन्थ्रोपिकले रक्षा विभागविरुद्ध मुद्दा दायर गरेको छ।
यसैबीच ओपनएआईले पनि पेन्टागनसँग सम्झौता गरेपछि उपभोक्ता प्रतिक्रिया र कम्तीमा एक कार्यकारीको राजीनामा सामना गर्नुपरेको छ।
प्रकाशित: २ चैत्र २०८२, सोमबार