
काठमाडौं ।
गत भदौमा भएको जेनजी आन्दोलनका बेलामा चर्चित र हालै भएको आम निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुधन गुरुङले सञ्चार सुविधाबाट वञ्चित गोरखाका विभिन्न क्षेत्रमा टावर राखिदिन आग्रह गरेका छन्।
गुरुङले नेपाल टेलिकम केन्द्रीय कार्यालयलाई सम्बोधन गर्दै हिजो बिहीबार लेखिएको पत्रमार्फत् गोरखाका विभिन्न स्थानमा तत्काल टावर राखिदिन आग्रह गरेका हुन्।
पत्रमा तत्काल टावर राखिनुपर्ने क्षेत्रमा आरुघाट -१, बालुवा, फिनाम, यार्सा मादिखोला, डुसल, सिरानचोक, सियोडाँडा, झ्याङ्जा र ताङ्ज्याङ्टारालई सूचीबद्ध गरिएको छ।
यी क्षेत्रहरुमा यसअघि पनि सञ्चार सुविधा नपुगेका कारण विभिन्न सेवा र सुविधाबाट वञ्चित हुनुपरेको गुनासो आउने गरेको थियो। नेपालमा अझै पनि पूर्वाधारको अभावका कारण सञ्चारजस्तो आधारभूत सेवाबाट वञ्चित हुनुपर्ने अवस्था कायमै छ। यसरी आफ्ना क्षेत्रका आधारभूत सुविधाहरुका लागि सवही क्षेत्रका प्रतिनिधिहरुले पहल गरेमा छिटो र प्रभावकारी रुपमा काम बन्न सक्ने देखिन्छ।
यसअघि जेनजी आन्दोलनपछि बनेको सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पनि आफ्नो पहलमा तिलिचोको उच्च क्षेत्र लगायतका भागमा द्रुत गतिमा फोरजी सञ्चार सुविधा पुर्याएका थिए।
प्रकाशित: २९ फाल्गुन २०८२, शुक्रबार