
काठमाडौं ।
चीनको ब्रेन–कम्प्युटर इन्टरफेस (बीसीआई) क्षेत्रमा काम गर्ने नयाँ स्टार्टअप गेस्टालाले स्थापना भएको दुई महिनामै २१.६ मिलियन डलर (करिब १५ करोड युआन) लगानी जुटाएको छ। कम्पनीका संस्थापक तथा सीईओ फिनिक्स पेङका अनुसार यस फन्डिङले कम्पनीको मूल्यांकन करिब १०० देखि २०० मिलियन डलरसम्म पुगेको छ।
अमेरिकामा न्यूरालिङ्क र मर्ज ल्याब्सजस्ता कम्पनीहरूले बीसीआई प्रविधिमा तीव्र रूपमा काम गरिरहेका बेला पेङले चीनमा प्रतिस्पर्धी प्रयास अघि बढाइरहेका छन्। उनले अर्को कम्पनी न्यूरोएक्सप्रेस पनि सञ्चालन गर्छन्, जसले प्रत्यारोपणयोग्य बीसीआई प्रणाली विकास गरिरहेको छ जबकि गेस्टालाले गैर–आक्रामक अल्ट्रासाउन्ड आधारित बीसीआई प्रविधि विकास गरिरहेको छ।
यो लगानी चरण गुओशेङ क्यापिटल र डाल्टन भेञ्चरले सह-नेतृत्व गरेका हुन्। साथै छिङ सङ क्यापिटल, गोबी भेञ्चर्स, फोरियर इन्टेलिजेन्स, लाइपिन र सीज क्यापिटलले पनि सहभागिता जनाएका छन्। पेङका अनुसार यो फन्डिङ राउन्ड अत्यधिक माग भएको थियो र कुल ५८ मिलियन डलरभन्दा बढी लगानी प्रतिबद्धता आएको थियो।
यो चीनको बीसीआई उद्योगमा प्रारम्भिक चरणमै प्राप्त भएको सबैभन्दा ठूलो लगानी मानिएको छ। कम्पनीले उक्त रकम अनुसन्धान तथा विकास (आरएण्डडी), कर्मचारी विस्तार र चीनमै उत्पादन सुविधा निर्माणमा खर्च गर्ने योजना बनाएको छ। हाल १५ जना कर्मचारी रहेको टोलीलाई वर्षको अन्त्यसम्म करिब ३५ जनासम्म विस्तार गर्ने लक्ष्य राखिएको छ। साथै तीन महिनाअघि मात्र स्थापना भएको कम्पनीले यसै वर्षको अन्त्यसम्म पहिलो पुस्ताको प्रोटोटाइप तयार गर्ने लक्ष्य राखेको छ।
विश्वभर अहिले बीसीआई क्षेत्रमा अल्ट्रासाउन्ड प्रविधिमा लगानी तीव्र रूपमा बढिरहेको छ। गेस्टाला चीनको पहिलो अल्ट्रासाउन्ड आधारित बीसीआई कम्पनी भए पनि विश्वमा भने मर्ज ल्याब्स जस्ता यस्तो प्रविधिमा काम गर्ने अन्य स्टार्टअपहरू पहिले नै देखा परिसकेका छन्। पेङका अनुसार अल्ट्रासाउन्ड प्रविधिले मस्तिष्कको धेरै भागमा पहुँच दिन सक्ने भएकाले बीसीआई प्रविधिको अर्को पुस्ता बन्न सक्ने सम्भावना छ।
उनका अनुसार गैर–आक्रामक अल्ट्रासाउन्ड प्रविधिले बीसीआई अपनाउनको मुख्य अवरोध—मस्तिष्कको शल्यक्रिया आवश्यक पर्ने जोखिम—कम गर्न सक्छ। प्रत्यारोपण गरिने इलेक्ट्रोड प्रणालीको तुलनामा यसले मस्तिष्कको गहिरो न्यूरल सर्किटहरू सहित ठूलो भागलाई निगरानी गर्न सक्छ। फेज्ड-एरे अल्ट्रासाउन्ड प्रयोग गरेर शल्यक्रिया नगरीकनै न्यूरल गतिविधिलाई सक्रिय वा दबाउन पनि सकिने पेङले बताएका छन्।
भूराजनीतिक तनाव बढिरहेको अवस्थामा पनि पेङले अमेरिका र चीनबीच गहिरो प्रविधि अनुसन्धानमा सहकार्य हुन सक्ने आशा व्यक्त गरेका छन्। उनका अनुसार चीनसँग ठूलो स्तरको क्लिनिकल अनुसन्धान क्षमता र प्रभावकारी सप्लाइ चेन छ भने अमेरिकासँग विश्वस्तरीय वैज्ञानिक प्रतिभा छ।
गेस्टालाले आफ्नो प्रविधिको विभिन्न प्रयोगहरू पनि अध्ययन गरिरहेको छ। चिकित्सा क्षेत्रमा दीर्घकालीन पीडा व्यवस्थापन कम्पनीको प्रमुख कार्यक्रम हो। यसबाहेक डिप्रेसन, पीएसटीडी, अटिजम, ओसीडीजस्ता मानसिक स्वास्थ्य समस्याहरू तथा स्ट्रोक पुनर्स्थापनामा पनि प्रयोगको सम्भावना अध्ययन भइरहेको छ। दीर्घकालीन लक्ष्यका रूपमा अल्जाइमर, इसेन्सियल ट्रेमर र पार्किन्सन रोग पनि समावेश छन्।
कम्पनीका अनुसार चीनको एकीकृत उत्पादन प्रणाली प्रयोग गरेर विकासदेखि उत्पादनसम्मको प्रक्रिया अन्तर्राष्ट्रिय प्रतिस्पर्धीहरूभन्दा छिटो बनाउन सकिनेछ। साथै प्रमुख चिनियाँ अस्पतालहरूसँग सहकार्य गर्दै क्लिनिकल परीक्षण पनि अघि बढाइनेछ, जसको लागत अमेरिका वा युरोपको तुलनामा करिब २० देखि ३३ प्रतिशत मात्र हुने अनुमान गरिएको छ।
यससँगै कम्पनीले “अल्ट्रासाउण्ड ब्रेन ब्याङ्क” नामक ठूलो क्लिनिकल डाटा सङ्ग्रह पनि निर्माण गरिरहेको छ, जसलाई प्रयोग गरेर एआई मोडेलहरूलाई मस्तिष्क संकेतहरू बुझ्न तालिम दिइनेछ र भविष्यका न्यूरोलोजिकल निदान प्रणालीहरू विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रकाशित: २९ फाल्गुन २०८२, शुक्रबार