होन्डा इभी रणनीति फेरबदलतर्फ

  • Technology Khabar | २८ फाल्गुन २०८२, बिहीबार

काठमाडौं ।

अमेरिकी नीति परिवर्तन, आयात शुल्क र कमजोर बजार मागका कारण जापानी अटो निर्माता होन्डाले आफ्नो विद्युतीय सवारी (इभी) रणनीतिमा ठूलो पुनर्विचार गर्ने सङ्केत दिएको छ।

कम्पनीले यस पुनर्संरचनासँग सम्बन्धित खर्च र घाटा मिलाएर करिब २५ खर्ब येन अर्थात् झण्डै १६ अर्ब डलर बराबरको वित्तीय भार पर्ने अनुमान गरेको जनाएको छ।

होन्डाले दीर्घकालीन रूपमा विद्युतीय सवारी नै उत्तम समाधान हुने विश्वास गर्दै केही वर्षअघि इभीलाई केन्द्रमा राखेर रणनीतिक दिशा परिवर्तन गरेको जनाएको छ। कम्पनीका अनुसार त्यही दृष्टिकोणका आधारमा विद्युतीय सवारीलाई व्यापक बनाउने योजनासहित लगानी र उत्पादन विस्तार गरिएको थियो।

तर पछिल्लो समय अमेरिकी सरकारको नीति परिवर्तन, विशेषगरी आयात शुल्क र प्रोत्साहनसम्बन्धी व्यवस्थाले अटो व्यवसायको नाफामा दबाब परेको कम्पनीले उल्लेख गरेको छ। कम्पनीले विद्युतीय सवारी खरिदमा दिइँदै आएको अमेरिकी कर प्रोत्साहन हटाइएको र जीवाश्म इन्धनसम्बन्धी नियमहरू केही खुकुलो बनाइएकाले पनि बजारको वातावरण बदलिएको बताएको छ।

त्यससँगै एसियाली बजारमा आफ्ना उत्पादनहरूको प्रतिस्पर्धात्मकता घट्दै गएको कम्पनीको निष्कर्ष छ। विशेषगरी चीनमा प्रतिस्पर्धा बढेकाले त्यहाँ गरिएको केही लगानी रद्द गर्नुपर्ने अवस्था आउन सक्ने सम्भावना पनि कम्पनीले औँल्याएको छ।

उत्तर अमेरिकामा विद्युतीय सवारीको बजार अपेक्षाभन्दा सुस्त देखिएपछि कम्पनीले त्यहाँका केही इभी मोडलको विकास र सार्वजनिक गर्ने योजना रद्द गर्ने निर्णय गरेको जनाएको छ।

होन्डाका अनुसार इभी रणनीतिको पुनर्मूल्याङ्कनसँग सम्बन्धित खर्च तथा सम्पत्तिलाई घाटाका रूपमा देखाउँदा ठूलो वित्तीय असर पर्नेछ। यी सम्पत्तिहरू मूलतः विद्युतीय सवारी उत्पादनका लागि तयार पारिएका संरचना र पूर्वाधारसँग सम्बन्धित छन्।

कम्पनीले चालु आर्थिक वर्षमा २५ खर्ब येनसम्मको खर्च र घाटा हुन सक्ने अनुमान गरेको छ। यो करिब १५ अर्ब ७० करोड डलर बराबर हुन्छ।

यसका कारण चालु आर्थिक वर्षको अन्त्यसम्म कम्पनीले चार खर्ब २० अर्बदेखि छ खर्ब ९० अर्ब येनसम्मको शुद्ध घाटा व्यहोर्ने प्रक्षेपण गरेको छ। यसअघि कम्पनीले करिब तीन खर्ब येन नाफा हुने अनुमान गरेको थियो, तर अहिलेको परिस्थितिले त्यो पूर्वानुमान उल्ट्याएको हो।-रासस

प्रकाशित: २८ फाल्गुन २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार