नुरोले जापानको टोक्योका सडकहरूमा सुरु गर्यो आफ्ना स्वचालित सवारी प्रविधिको परीक्षण

  • Technology Khabar | २८ फाल्गुन २०८२, बिहीबार
नुरोले जापानको टोक्योका सडकहरूमा  सुरु गर्यो आफ्ना स्वचालित सवारी प्रविधिको परीक्षण
तस्बिर: टेकक्रञ्च

काठमाडौं ।

अमेरिकाको सिलिकन भ्यालीस्थित स्वचालित सवारी प्रविधि कम्पनी नुरोले जापानको टोक्योका सडकहरूमा आफ्नो स्वचालित सवारी प्रविधिको परीक्षण सुरु गरेको छ।

कम्पनीका अनुसार टोयोटा को टोयोटा प्रायस कारहरूमा नुरो को सेल्फ–ड्राइभिङ सफ्टवेयर जडान गरेर गत महिना टोकियोका सार्वजनिक सडकहरूमा परीक्षण सुरु गरिएको हो। सुरक्षा सुनिश्चित गर्न हाल ती गाडीहरूमा मानव सुरक्षा चालक पनि राखिएको छ। यो परीक्षण नुरो को विदेशमा गरिएको पहिलो विस्तार हो।

नुरो ले जापानमा परीक्षण गर्दा नयाँ चुनौतीहरू सामना गर्नुपरेको बताएको छ। जापानमा गाडीहरू सडकको बायाँपट्टि चलाइन्छ, टोकियोका सडकहरूमा ट्राफिक अत्यन्त घना हुन्छ र सडक संकेत तथा लेन मार्किङ पनि फरक हुन्छन्। कम्पनीले टोकियोमा गत अगस्टदेखि कार्यालय सञ्चालन गर्दै आएको भए पनि परीक्षणमा कति गाडी प्रयोग भइरहेका छन् वा कहिलेदेखि मानव सुरक्षा चालक हटाइनेछ भन्ने खुलाएको छैन।

कम्पनीले आफ्नो ब्लग पोस्टमार्फत भविष्यमा अझ धेरै देशहरूमा विस्तार गर्ने संकेत पनि दिएको छ। नुरो सन् २०१६ मा डेभ फर्गुसन र जियाजुन झु ले स्थापना गरेका हुन् जो पहिले गुगलको स्वचालित सवारी परियोजनामा काम गर्ने इन्जिनियर थिए। सुरुमा कम्पनीले कम गतिमा चल्ने डेलिभरी रोबोटहरूको फ्लीट विकास र सञ्चालनमा ध्यान दिएको थियो।

कम्पनीको सुरुवाती योजनाले सफ्टब्याङ्क भिजन फण्डको ध्यान तानेको थियो, जसले २०१९ मा नुरोमा ९४० मिलियन डलर लगानी गरेको थियो।

तर विकास लागत बढ्दै जाँदा र उद्योगमा प्रतिस्पर्धा बढेपछि कम्पनीले कर्मचारी कटौती गर्दै आफ्नो व्यवसाय मोडेल पुनः मूल्याङ्कन गर्नुपर्‍यो। त्यसपछि २०२४ मा कम्पनीले कम–गति डेलिभरी रोबोट परियोजना छाडेर आफ्नो स्वचालित प्रविधि सिधै अटोमेकर तथा मोबिलिटी कम्पनीहरू—जस्तै राइड–हेलिङ र डेलिभरी सेवाहरू—लाई लाइसेन्स दिने रणनीति अपनायो।

नुरो का अनुसार यसको स्वचालित प्रणाली एण्ड-टू-एण्ड एआई फाउन्डेसन मोडेलमा आधारित छ, जसले गाडी चलाउँदा सिक्दै जाने क्षमता राख्छ। कम्पनीले यसलाई “जिरो शट-अटोनोमस ड्राइभिङ” रणनीति नाम दिएको छ।

कम्पनीका अनुसार यस प्रविधिले जापानको ड्राइभिङ डाटामा पहिले प्रशिक्षण नपाए पनि टोकियोका सार्वजनिक सडकहरूमा स्वचालित रूपमा नेभिगेट गर्न सक्ने क्षमता देखाएको छ। बेलायतको वेभ नामक स्टार्टअपले पनि आफ्ना सेल्फ–ड्राइभिङ प्रणालीमा यस्तै एण्ड-टू-एण्ड एआई दृष्टिकोण अपनाएको छ।

नुरो ले भने सुरक्षा प्राथमिकता नै रहेको बताएको छ। कम्पनीले प्रत्येक नयाँ सफ्टवेयर संस्करणलाई बन्द परीक्षण ट्र्याकमा परीक्षण गर्ने, सिमुलेसन प्रयोग गरेर जटिल अवस्थाहरूको मूल्याङ्कन गर्ने र सार्वजनिक सडकमा चलाउँदा सुरुमा “श्याडो मोड” मा परीक्षण गर्ने जनाएको छ।

श्याडो मोडमा गाडी मानव चालकले नै चलाउँछ, तर नुरोको एआई प्रणालीले त्यही अवस्थामा आफूले के निर्णय लिने थियो भनेर गणना गर्छ। ती आदेशहरू गाडीको नियन्त्रण प्रणालीमा पठाइँदैनन्, बरु परिणाम विश्लेषण गरेर प्रणाली सार्वजनिक सडकमा पूर्ण स्वचालित रूपमा चल्न तयार छ कि छैन भन्ने मूल्याङ्कन गरिन्छ।

नुरो को यो रणनीतिले लगानीकर्ताहरूको ध्यान पनि तानेको छ। कम्पनीले गत वर्ष सिरिज ई फन्डिङ राउन्डमा दुई चरणमार्फत २०३ मिलियन डलर उठाएको थियो, जसमा बेइली गिफ्फर्ड, आइसहाउस भेञ्चर्स, किण्ड्रेड भेञ्चर्स, एनभिडिया र प्लेज भेञ्चर्स लगायतका लगानीकर्ताहरू सहभागी थिए। त्यस्तै उबरले पनि विद्युतीय कार निर्माता लुसिड मोटर्स सँगको व्यापक सम्झौताको हिस्साका रूपमा नुरो मा “कयौँ सय मिलियन डलर” लगानी गर्ने योजना सार्वजनिक गरिसकेको छ।

प्रकाशित: २८ फाल्गुन २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार