एप्पलले २०२५ मा भारतमा ५ करोड ५० लाख आईफोन तयार पार्यो

  • Technology Khabar | २७ फाल्गुन २०८२, बुधबार
एप्पलले २०२५ मा भारतमा ५ करोड ५० लाख आईफोन तयार पार्यो
फाइल तस्बिर

काठमाडौं ।

एप्पलले अहिले आफ्नो कुल आईफोन उत्पादनको करिब एक चौथाइ हिस्सा भारतमा बनाइरहेको छ। यो उपलब्धि जेपी मोर्गनले सन् २०२२ मै अनुमान गरेको लक्ष्यसँग मेल खाने कोशेढुङ्गा हो। कम्पनीले चीनमा रहेको उत्पादन निर्भरता घटाउने दीर्घकालीन योजनाअन्तर्गत यस्तो कदम चालेको ब्लूमबर्गको रिपोर्टमा उल्लेख छ।

गत वर्ष विश्वभर उत्पादन भएका करिब २२ करोडदेखि २३ करोड आईफोन मध्ये करिब ५ करोड ५० लाख फोन भारतमा निर्माण भएको रिपोर्टले जनाएको छ।

टेकक्रञ्चका अनुसार एप्पलले आफ्नो प्रतिबद्धता अझ बलियो बनाउँदै गत सेप्टेम्बरको लन्चअघि नै सम्पूर्ण आईफोन १७ श्रृंखला भारतमै उत्पादन सुरु गरेको थियो। एप्पल का सीईओ टिम कूकले अमेरिकामा हुने अधिकांश माग अहिले भारतमा बनेका आईफोन बाट पूरा भइरहेको बताएका छन्।

यो परिवर्तन सन् २०२५ मा अझ तीव्र भयो। बदलिँदो अमेरिकी ट्यारिफ नियमका कारण चीनमा अनिश्चितता बढेपछि एप्पलले विभिन्न देशमा उत्पादन विस्तार गर्दै आपूर्ति शृंखला विविधीकरण गर्न थालेको हो। विषय यति संवेदनशील बनेको थियो कि डोनाल्ड ट्रम्पले मे महिनामा दोहामा भएको एक व्यापार सम्मेलनमा कूकलाई भारतमा थप विस्तार नगर्न चेतावनी दिएका थिए।

यससँगै भारत एप्पलका लागि महत्वपूर्ण उपभोक्ता बजार पनि बन्दै गएको छ। विश्लेषक संस्था काउन्टरपोइन्ट रिसर्चका अनुसार कम्पनीले गत वर्ष भारतमा १ करोड ४० लाख आईफोन पठाएको थियो, जुन अघिल्लो वर्षको तुलनामा ९ प्रतिशतले बढी हो।

छुट्टै रिपोर्टमा ब्लूमबर्गले भारतमा आईफोन बिक्रीबाट गत वर्ष ९ अर्ब डलरभन्दा बढी आम्दानी भएको उल्लेख गरेको छ। एप्पल ले यस वर्ष भारतमा एप्पल पे सुरु गर्ने तयारी गरिरहेको छ भने कम्पनीले गत महिना त्यहाँ आफ्नो छैटौँ खुद्रा स्टोर पनि खोलेको छ।

प्रकाशित: २७ फाल्गुन २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार