
काठमाडौं ।
११६ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा क्यान महासंघ अन्तर्गतको वुमन इन आईटी कमिटीद्वारा महिलाहरूलाई डिजिटल सुरक्षासम्बन्धी सचेतना अभिवृद्धि गर्ने तथा सुरक्षित डिजिटल सहभागिता प्रवर्द्धन गर्ने उद्देश्यले “SheSecure 2026: Empowering Women for a Safer Digital World” शीर्षकको वेबिनार आयोजना गरेको छ।
कार्यक्रमकी नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले डिजिटल युगमा विशेषगरी महिलाहरू साइबर ठगी, अनलाइन दुर्व्यवहार तथा विभिन्न प्रकारका साइबर अपराधबाट प्रभावित भइरहेका उल्लेख गर्दै डिजिटल सुरक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू अत्यन्त आवश्यक रहेको बताइन्। साथै उनले आगामी दिनमा यस्ता कार्यक्रमहरू सञ्चालन गर्न क्यान महासंघसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन।
कार्यक्रममा क्यान महासंघकी केन्द्रीय सदस्य तथा नेपाल बैंक लिमिटेडको कार्ड एण्ड डिजिटल बैंंकिङ्ग डिभिजन प्रमुख बन्दना शर्माले साइबर सुरक्षा, सामाजिक इन्जिनियरिङ आक्रमण, फिसिङ, अनलाइन ठगी, डिजिटल उत्पीडन, डिपफेक प्रविधिबाट हुने दुरुपयोग, रोम्यान्स तथा लगानी घोटाला लगायतका साइबर अपराधका विभिन्न प्रकारहरूबारे विस्तृत जानकारी दिइन्। साथै उनले बलियो पासवर्ड प्रयोग, Multi-Factor Authentication (MFA) सक्षम गर्ने, व्यक्तिगत जानकारी सुरक्षित राख्ने तथा साइबर अपराध भएमा नेपाल प्रहरीको साइबर व्यूरोमा उजुरी दिने प्रक्रियाबारे पनि व्यावहारिक जानकारी प्रदान गरिन।
कार्यक्रममा क्यान महासंघका केन्द्रीय अध्यक्ष सुनैना पाण्डे घिमिरे तथा महासचिव चन्द्रबिलास भुर्तेलले साइबर सुरक्षा तथा डिजिटल सचेतना अभिवृद्धि गर्न क्यान महासंघले देशभर यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रममा वुमन इन आईटी कमिटीका संयोजक सरिता न्यौपानेले डिजिटल युगमा महिलाहरूको सुरक्षित सहभागिता सुनिश्चित गर्न यस्ता सचेतनामूलक कार्यक्रमहरूको महत्वबारे प्रकाश पारिन।
कार्यक्रममा क्यान महासंघका केन्द्रीय पदाधिकारी तथा सदस्यहरू, लेखा समिति संयोजक तथा सदस्यहरू, वुमन इन आईटी कमिटीका सदस्यहरू, देशभरका क्यान महासंघ जिल्ला शाखाका प्रतिनिधिहरू तथा सूचना प्रविधिमा चासो राख्ने महिला दिदीबहिनीहरू गरी करिब १४० जना सहभागीहरूको उपस्थिति रहेको जारि विज्ञप्तीमा उल्लेख छ।
प्रकाशित: २६ फाल्गुन २०८२, मंगलवार