
काठमाडौं ।
अमेरिकाका २६ राज्यमा विद्युतीय एयर ट्याक्सी परीक्षण सुरु हुने तयारी भएको छ।
अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले आठवटा पाइलट कार्यक्रम स्वीकृत गरेको छ, जसअन्तर्गत आर्चर एभिएशन, बिटा टेक्नोलोजिज, जोबी एभिएशन र विस्कजस्ता कम्पनीहरूले यसै गर्मीदेखि विद्युतीय विमानको व्यापक परीक्षण सुरु गर्न सक्नेछन्।
तीन वर्षसम्म सञ्चालन हुने यो कार्यक्रम २६ राज्यमा लागू हुनेछ। अमेरिकी कम्पनीहरूले व्यक्तिगत यात्रा, क्षेत्रीय यातायात, कार्गो ढुवानी तथा आपतकालीन स्वास्थ्य सेवामा प्रयोग हुने नयाँ पुस्ताका विमान प्रविधिमा अग्रता लिन सुनिश्चित गर्ने उद्देश्यले कार्यक्रम ल्याइएको यातायात मन्त्री सन डफ्फीले सोमबार बताएका छन्।
एडभान्स्ड एयर मोबिलिटी एण्ड इलेक्ट्रिक भर्टिकल टेकअफ एण्ड ल्याण्डिङ इन्टिग्रेशन पाइलट प्रोग्राम नामको यो कार्यक्रम गत वर्ष राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशमार्फत घोषणा गरिएको थियो। यसको उद्देश्य भविष्यका विद्युतीय उडान साधनको विकास तीव्र बनाउनु हो।
हालका वर्षहरूमा धेरै कम्पनीहरूले विद्युतीय भर्टिकल टेकअफ एण्ड ल्याण्डिङ (ईभीटोल) प्रविधिमा आधारित शहरी एयर ट्याक्सी र क्षेत्रीय विद्युतीय विमान सञ्चालन गर्ने योजना सार्वजनिक गरेका छन्। तर यस्तो विमानलाई व्यावसायिक रूपमा सञ्चालनमा ल्याउन वर्षौँ समय र सयौँ मिलियन डलर लगानी आवश्यक पर्छ। एफएएले कुनै पनि नयाँ विमानलाई प्रमाणित गर्नुपर्ने भएकाले यो प्रक्रिया बहुवर्षीय हुन्छ।
यो पाइलट कार्यक्रममार्फत कम्पनीहरूले पूर्ण नियामकीय प्रमाणिकरण नपाए पनि आफ्ना ईभीटोल विमानहरूको परीक्षण गर्न पाउनेछन्।
यसले आर्चर, बीटा र जोबीजस्ता सार्वजनिक कम्पनीहरूको विकास प्रयासलाई गति दिन सक्ने र उनीहरूको सेयर मूल्यलाई पनि बल पुर्याउने अपेक्षा गरिएको छ।
बिटा टेक्नोलोजिजका संस्थापक तथा सीईओ काइल क्लार्कले कार्यक्रमका लागि चयन हुनुका कारण कम्पनीले अपेक्षाभन्दा एक वर्ष अगाडि नै विमान सञ्चालन सुरु गर्न सक्ने बताएका छन्। सोमबार कम्पनीको सेयर मूल्य करिब १२ प्रतिशतले बढेको थियो। आर्चर र जोबीको सेयर मूल्य पनि उक्लिएको छ।
आर्चर ले ईभीटोल कार्यक्रमलाई रोबोट्याक्सी परीक्षणसँग तुलना गर्दै यसले विद्युतीय एयर ट्याक्सी सुरक्षित रूपमा विस्तार गर्न आवश्यक विश्वास र सञ्चालन मोडेल तयार गर्न मद्दत गर्ने जनाएको छ। कम्पनीले चार यात्रु बोक्न सक्ने मिडनाइट नामक ईभीटोल विमान विकास गरिरहेको छ र सन् २०२८ मा लस एञ्जलसमा हुने ओलम्पिक गेम्सका लागि एयर ट्याक्सी सेवा सुरु गर्ने तयारी पनि गरिरहेको छ।
एफएए का उपप्रशासक क्रिस रोचेल्युले यी सहकार्यले राष्ट्रिय हवाई क्षेत्र प्रणालीमा यस्ता विमानलाई सुरक्षित र प्रभावकारी रूपमा समावेश गर्ने तरिका बुझ्न मद्दत गर्ने बताएका छन्।
एफएएका अनुसार यस कार्यक्रमका लागि ३० वटा प्रस्ताव प्राप्त भएका थिए।
कार्यक्रममा सहभागी कम्पनीहरूले राज्य, स्थानीय, आदिवासी वा क्षेत्रीय सरकारसँग सहकार्य गर्न अनिवार्य छ।
परियोजनाहरूमा शहरी एयर ट्याक्सी, क्षेत्रीय उडान, कार्गो ढुवानी र अन्य प्रयोग समावेश छन्। उदाहरणका लागि, न्यूयोर्क र न्यूजर्सीको पोर्ट अथोरिटीले आर्चर, बिटा, इलेक्ट्रा र जोबीसँग मिलेर म्यानहाटन हेलिपोर्टबाट सञ्चालन हुने अवधारणा सहित दर्जनौँ परीक्षण परियोजना अघि बढाउने टेकक्रञ्चले उल्लेख गरेको छ।
टेक्ससको यातायात विभागले आर्चर, बिटा, जोबी र विस्कसँग मिलेर ड्यालस, अस्टिन, सान एन्टोनियो र पछि हौस्टन जोड्ने क्षेत्रीय उडान परीक्षण गर्नेछ। यसमा प्रत्येक शहरबाट विस्तार हुने एयर ट्याक्सी सञ्जाल निर्माण पनि समावेश हुनेछ।
केही परियोजनाहरू भौगोलिक रूपमा अझ ठूलो क्षेत्रलाई समेट्ने छन्। यूत: को नेतृत्वमा प्यासिफिक नर्थवेस्ट, रकी पहाड र ओक्लोहामाको समथर क्षेत्रमा नयाँ विमान र सञ्चालन मोडेल परीक्षण गरिनेछ।
पेन्सल्भानिया यातायात विभागको नेतृत्वमा अर्को परियोजनाले १३ राज्य समेटेर देशभर क्षेत्रीय उडान पुनर्जीवित गर्ने लक्ष्य राखेको छ।
अन्य परियोजनाहरू कार्गो ढुवानी, स्वास्थ्य आपतकालीन सेवा तथा स्वचालित उडानमा केन्द्रित छन्। बिटा, एलरोय एयर लगायतका कम्पनीहरूले लुजियाना, टेक्सस र मिसिसिपीका ऊर्जा उद्योग क्षेत्र तथा गल्फ अफ अमेरिका क्षेत्रमा कार्गो र कर्मचारी ढुवानी उडान परीक्षण गर्नेछन्।
फ्लोरिडा, लुजियाना र नर्थ क्यारोलाइनाका यातायात विभागले पनि परियोजनाहरू नेतृत्व गरिरहेका छन्। अल्बकर्की शहरलेरिलायबल रोबोटिक्ससँग मिलेर स्वचालित उडान परीक्षण गर्ने योजना बनाएको छ।
प्रकाशित: २६ फाल्गुन २०८२, मंगलवार