
काठमाडौं ।
कृत्रिम बुद्धिमत्ता कम्पनी एन्थ्रोपिकले आफ्नो प्रविधिको प्रयोगसम्बन्धी प्रतिबन्धलाई लिएर अमेरिकी सेनासँग बढ्दो विवादका बीच अमेरिकी रक्षा मन्त्रालयले आफूलाई राष्ट्रिय सुरक्षा कालोसूचीमा राख्न खोजेको कदम रोक्न अदालत पुगेको छ।
एन्थ्रोपिकले सोमबार दायर गरेको मुद्दामा पेन्टागनलाई यस्तो कालोसूचीमा राख्नबाट रोक्न माग गरिएको छ। कम्पनीले यो निर्णय गैरकानुनी भएको र यसले अभिव्यक्ति स्वतन्त्रता तथा उचित कानुनी प्रक्रिया सम्बन्धी आफ्ना अधिकार उल्लङ्घन गरेको दाबी गरेको छ।
क्यालिफोर्नियाको संघीय अदालतमा दायर निवेदनमा कम्पनीले उक्त निर्णय खारेज गर्न र संघीय निकायहरूलाई त्यसको कार्यान्वयन रोक्न आदेश दिन न्यायाधीशसँग आग्रह गरेको छ।
“यी कदमहरू अभूतपूर्व र गैरकानुनी छन्। संविधानले सरकारलाई आफ्नो विशाल शक्ति प्रयोग गरेर कुनै कम्पनीलाई सुरक्षित अभिव्यक्तिका कारण दण्डित गर्न अनुमति दिँदैन,” एन्थ्रोपिकले जनाएको छ।
पेन्टागनले गत बिहीबार एन्थ्रोपिक माथि औपचारिक आपूर्ति–शृंखला जोखिमको नाम दिएको थियो। दुई स्रोतका अनुसार उक्त प्रविधि इरानमा भइरहेका सैन्य अपरेसनहरूमा प्रयोग भइरहेको बताइएको थियो।
रक्षा सचिव पिट हेगसेठले एन्थ्रोपिकलाई यस्तो दर्जा दिएका थिए, किनकि उक्त स्टार्टअपले आफ्नो एआईलाई स्वचालित हतियार वा घरेलु निगरानीका लागि प्रयोग गर्न सकिने सुरक्षात्मक प्रतिबन्ध हटाउन अस्वीकार गरेको थियो। यी सीमाबारे दुई पक्षबीच महिनौँदेखि कडा वार्ता भइरहेको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत सरकारले क्लोड एआई प्रयोग बन्द गर्न निर्देशन दिएका थिए। एक्जियसले सोमबार रिपोर्ट गरेअनुसार ह्वाइट हाउसले संघीय सरकारका गतिविधिबाट एन्थ्रोपिकको एआई हटाउन औपचारिक कार्यकारी आदेश तयार गरिरहेको छ।
यस विषयमा एन्थ्रोपिक र ह्वाइट हाउसले तत्काल प्रतिक्रिया नदिएको रोयटर्सले उल्लेख गरेको छ। यो विवाद प्रशासनको व्यापारमाथिको अधिकार र एआई प्रयोगबारे अन्तिम निर्णय सरकारको हुने कि एआई बनाउने कम्पनीहरूको भन्ने प्रश्नको परीक्षणका रूपमा हेरिएको छ।
एआई र राष्ट्रिय सुरक्षा
यो विवाद विशेष रूपमा उल्लेखनीय मानिएको छ, किनकि अन्य धेरै एआई कम्पनीभन्दा पहिले नै एन्थ्रोपिकले अमेरिकी राष्ट्रिय सुरक्षा निकायहरूसँग सहकार्य बढाउन सक्रिय प्रयास गरेको थियो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत डारियो अमोडेईले एआई-आधारित हतियारको पूर्ण विरोध नगरे पनि हालको पुस्ताको एआई प्रविधि पर्याप्त सटीक नभएको बताएका छन्।
एन्थ्रोपिकका अधिकारीहरूले मुद्दा दायर गरिएको भए पनि अमेरिकी सरकारसँग पुनः वार्ता सुरु गरेर समाधान खोज्ने सम्भावना खुला रहेको बताएका छन्। कम्पनीले आफू अमेरिकी सरकारसँग द्वन्द्वमा जान चाहँदैन भनेको छ।
पेन्टागनले भने मुद्दाबारे टिप्पणी नगर्ने जनाएको छ। गत हप्ता पेन्टागनका एक अधिकारीले दुई पक्षबीच अहिले सक्रिय वार्ता नरहेको बताएका थिए।
प्रकाशित: २६ फाल्गुन २०८२, मंगलवार