
काठमाडौं ।
ओपनएआईले अब रोबोटिक्स विभागका लागि नयाँ प्रमुख खोज्नुपर्ने भएको छ। कम्पनीकी पूर्व रोबोटिक्स प्रमुख कैटलिन कालिनोव्स्कीले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेकी छन्। उनले उचित सुरक्षा मापदण्ड (गार्डरेल) स्पष्ट नबनाई अमेरिकी रक्षा विभाग सँग साझेदारी गर्न कम्पनीले हतार गरेको भन्दै आलोचना गरेकी छन्।
यसअघि मेटामा काम गरेकी कालिनोव्स्की सन् २०२४ को अन्त्यतिर ओपनएआई मा सामेल भएकी थिइन्। उनले आफ्नो पोस्टमा लेखेकी छन्, “न्यायिक निगरानीबिना अमेरिकी नागरिकमाथि निगरानी गर्ने वा मानव अनुमति बिना घातक स्वायत्त प्रणाली प्रयोग गर्ने विषयहरू पर्याप्त छलफल गर्नुपर्ने सीमा हुन्।”
अर्को पोस्टको जवाफमा उनले सम्झौताको घोषणा आवश्यक गार्डरेलहरू परिभाषित नगरी हतारमा गरिएको बताउँदै यसलाई “मुख्य रूपमा शासनसम्बन्धी चिन्ता” भनेकी छन्।
ओपनएआईले कालिनोव्स्कीको राजीनामा पुष्टि गर्दै इन्ग्याजेटलाई दिएको वक्तव्यमा यी विषयमा मानिसहरूको “बलियो धारणा” रहेको स्वीकार गरेको छ र सम्बन्धित पक्षहरूसँग छलफल जारी राख्ने बताएको छ। कम्पनीले कालिनोव्स्कीले उठाएका आरोपहरूलाई भने समर्थन नगर्ने स्पष्ट पारेको इन्ग्याजेटले उल्लेख गरेको छ।
ओपनएआईको वक्तव्यमा भनिएको छ, “हामीलाई विश्वास छ कि पेण्टागनसँगको हाम्रो सम्झौताले राष्ट्रिय सुरक्षाका लागि एआईको जिम्मेवार प्रयोगको मार्ग बनाउँछ, साथै हाम्रो स्पष्ट सीमा पनि निर्धारण गर्छ—देशभित्र निगरानी नगर्ने र स्वायत्त हतियार नबनाउने।”
कालिनोव्स्कीको राजीनामा ओपनएआईले अमेरिकी रक्षा विभागसँग गरेको सम्झौतापछि देखिएको सबैभन्दा ठूलो प्रतिक्रिया मानिएको छ। यो निर्णय त्यसपछि आएको थियो जब एन्थ्रोपिकले व्यापक निगरानी र पूर्ण रूपमा स्वायत्त हतियार विकाससँग सम्बन्धित एआई गार्डरेल हटाउन अस्वीकार गरेको थियो।
यद्यपि ओपनएआई का सीईओ साम अल्टम्यान ले पनि अमेरिकी नागरिकमाथि जासुसी गर्न नदिने प्रावधान समावेश गर्न रक्षा विभागसँगको सम्झौता परिमार्जन गरिने बताएका छन्।
प्रकाशित: २५ फाल्गुन २०८२, सोमबार