
काठमाडौं ।
चीनमा ब्रेन–कम्प्युटर इन्टरफेस (बीसीआई) प्रविधि आगामी तीनदेखि पाँच वर्षभित्र व्यावहारिक रूपमा सार्वजनिक प्रयोगमा आउन सक्ने एक प्रमुख बीसीआई विशेषज्ञले बताएका छन्।
चीनले मस्क नेतृत्वको न्यूरालिङ्कजस्ता अमेरिकी स्टार्टअपहरूसँग प्रतिस्पर्धा गर्दै यो क्षेत्रमा तीव्र रूपमा अघि बढ्ने प्रयास गरिरहेको छ।
यसै साता सार्वजनिक गरिएको नयाँ पाँचवर्षीय योजनामा बेइजिङले बीसीआईलाई भविष्यका मुख्य रणनीतिक उद्योगहरूमध्ये एकका रूपमा समावेश गरेको छ। यसलाई क्वान्टम प्रविधि, एम्बोडिड एआई, सिक्सजी र न्यूक्लियर फ्युजनजस्ता क्षेत्रसँगै राखिएको छ।
सिचुआन इन्स्टिच्युट अफ ब्रेन साइन्सका निर्देशक याओ डेजोङले शनिबार बेइजिङमा चीनको वार्षिक संसद बैठकको सन्दर्भमा दिएको अन्तर्वार्तामा भने, “नयाँ नीतिहरूले तुरुन्तै ठूलो परिवर्तन ल्याउँदैनन्। तर अर्को तीनदेखि पाँच वर्षपछि केही बीसीआई उत्पादनहरू क्रमशः सर्वसाधारणका लागि व्यावहारिक सेवामा प्रयोग हुन थालेको देख्न सकिनेछ।”
परीक्षणहरू
गत वर्ष सार्वजनिक गरिएको राष्ट्रिय बीसीआई विकास रणनीतिले २०२७ सम्म प्रमुख प्राविधिक उपलब्धि हासिल गर्ने र २०३० सम्म दुई वा तीन विश्वस्तरीय कम्पनी विकास गर्ने लक्ष्य राखेको छ।
मानवमा प्रत्यक्ष प्रत्यारोपण गर्ने बीसीआई परीक्षण सुरु गर्ने दोस्रो देश चीन बनेको छ। हाल चीनमा १० भन्दा बढी परीक्षण सक्रिय छन्, जुन अमेरिकासँग बराबरीको संख्या हो।
वैज्ञानिकहरूले यस वर्ष देशभर ५० भन्दा बढी बिरामीलाई परीक्षणमा सहभागी गराउने योजना बनाएका छन्। हालैका केही महत्वपूर्ण परीक्षणहरूले पक्षघात भएका बिरामी र अंग गुमाएका व्यक्तिहरूलाई आंशिक रूपमा चलायमान हुन मद्दत गरेको छ। उनीहरूले रोबोटिक हात वा स्मार्ट ह्विलचेयर सञ्चालन गर्न सक्ने अवस्था पनि बनेको छ।
सरकारले केही परीक्षण प्रान्तहरूमा बीसीआई सम्बन्धी उपचारलाई राष्ट्रिय स्वास्थ्य बीमा प्रणालीमा समेत समावेश गर्न सुरु गरिसकेको छ। सट्ठसीआईडी कन्सल्टिङका अनुसार चीनको घरेलु बीसीआई बजार सन् २०२७ सम्म ५.५८ अर्ब युआन (करिब ८०९ मिलियन डलर) पुग्ने अनुमान गरिएको छ।
याओका अनुसार चीनसँग यस क्षेत्रमा धेरै फाइदाहरू छन्—विशाल जनसंख्या, धेरै बिरामीको आवश्यकता, लागत–प्रभावकारी औद्योगिक श्रृंखला र विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणित (एसटीईएम) क्षेत्रमा ठूलो प्रतिभा भण्डार। उनी चीनको विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको एक प्रमुख न्यूरो–इन्फर्मेटिक्स अनुसन्धान केन्द्रका प्रमुख पनि हुन्।
उनले बीमा समावेशीकरण र राष्ट्रिय मापदण्ड जस्ता नीतिहरूले वैज्ञानिक अनुसन्धान, उद्योग र चिकित्सकीय प्रयोगबीचको “ठूलो दूरी” घटाउन मद्दत गर्ने बताए।
तर उनले प्रयोगशालाबाट क्लिनिकल परीक्षणसम्म पुग्ने प्रक्रिया अझै लामो रहेको बताए। “प्रयोगात्मक चरणबाट क्लिनिकल परीक्षणसम्मको यात्रा निकै लामो छ, र यो अझै चुनौतीकै विषय हो,” उनले बताए। धेरै चिनियाँ अस्पतालहरूले यो प्रक्रिया छिटो बनाउन बीसीआई अनुसन्धान प्रयोगशाला स्थापना गरिसकेका रोयटर्सले उल्लेख गरेको छ।
अमेरिकी स्टार्टअपहरू जस्तै न्यू्रालिङ्कले मस्तिष्कको तन्तुभित्र प्रवेश गर्ने चिपमा ध्यान केन्द्रित गरिरहेका बेला चिनियाँ अनुसन्धानकर्ताहरूले इन्भेजिभ, सेमी-इन्भेजिभ र नन-इन्भेजिभ बीसीआई प्रविधि विकास गरिरहेका छन्, जसले क्लिनिकल प्रयोगका लागि फराकिलो सम्भावना दिन सक्छ।
मस्तिष्कको सतहमा राखिने सेमी-इन्भेजिभ बीसीआईले केही सिग्नल गुणस्तर घटाउन सक्छ, तर यसले मस्तिष्कको तन्तु क्षति वा शल्यक्रियापछिका अन्य जटिलताजस्ता जोखिम कम गर्छ। न्यूरालिङ्कको शल्यक्रिया रोबोटले केही मिनेटमै मस्तिष्कमा सयौँ इलेक्ट्रोड राख्न सक्छ।
“यो एउटा प्राविधिक फाइदा हो, जुन निकै उल्लेखनीय छ,”डेजोङले भने। “तर चीन पनि अहिले यस क्षेत्रमा निकै छिटो प्रगति गरिरहेको छ। वास्तवमा मस्कले अघि सारेको दिशामा यहाँ पनि प्रगति सम्भव छ।”
प्रकाशित: २५ फाल्गुन २०८२, सोमबार