१६ वर्षमुनिका लागि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने इन्डोनेसियाको घोषणा

  • Technology Khabar | २४ फाल्गुन २०८२, आईतवार
१६ वर्षमुनिका लागि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने इन्डोनेसियाको घोषणा
Social Media. From freepik.com

काठमाडौं ।

अष्ट्रेलियाको बाटो पछ्याउँदै इन्डोनेसिया ले १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रयोग सीमित गर्ने घोषणा गरेको छ।

इन्डोनेसियाकी सञ्चार तथा डिजिटल मामिला मन्त्री मेउत्या हाफिदले नयाँ सरकारी नियमअनुसार “उच्च जोखिम” मानिएका प्लेटफर्महरूले १६ वर्षभन्दा कम उमेरका इन्डोनेसियाली प्रयोगकर्ताका सबै खाताहरू मार्च २८ देखि हटाउनुपर्ने बताएकी छन्।

हाफिदका अनुसार यो नियम चरणबद्ध रूपमा लागू गरिनेछ। सुरुमा प्रमुख प्लेटफर्महरू जस्तै यूट्युब, टिकटक, फेसबुक, इन्स्टाग्राम, थ्रेड्स, एक्स, रोब्लोक्स र सिंगापुरमा आधारित लाइभ–स्ट्रिमिङ प्लेटफर्म बिगो लाइभमा यो लागू गरिने इन्ग्याजेटले उल्लेख गरेको छ।

मन्त्री हाफिदले सबै प्लेटफर्महरूले इन्डोनेसिया सरकारका अनुपालन सम्बन्धी दायित्वहरू पूरा गर्नुपर्ने पनि बताइन्, तर ती दायित्व के–के हुन् भन्नेबारे विस्तृत जानकारी भने दिइनन्।

प्रतिबन्धबारे प्रतिक्रिया दिँदै मेटाका प्रवक्ताले द न्यु योर्क टाइम्सलाई कम्पनीले अहिलेसम्म इन्डोनेसिया सरकारबाट औपचारिक नियम प्राप्त नगरेको र विस्तृत विवरणको प्रतीक्षा गरिरहेको बताएका छन्।

अष्ट्रेलिया सामाजिक सञ्जालमा यस्तो व्यापक प्रतिबन्ध लागू गर्ने पहिलो देश बनेको थियो। अहिले अन्य धेरै देशहरू पनि यस्तै कदम चाल्ने प्रक्रियामा छन्।

गत महिना स्पेनका प्रधानमन्त्री पेद्रो साञ्चेजले पनि १६ वर्षमुनिका प्रयोगकर्ताका लागि सामाजिक सञ्जाल प्रतिबन्धित गर्ने तयारी भइरहेको बताएका थिए। त्यस्तै मलेसियाको मन्त्रिपरिषद्ले पनि यस्तै प्रकारको प्रतिबन्ध स्वीकृत गरेको छ, जुन सम्भवतः यसै वर्ष लागू हुने बताइएको छ।

प्रकाशित: २४ फाल्गुन २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार