
काठमाडौं ।
पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका छन्।
गृह जिल्ला लमजुङबाट निर्वाचनमा उम्मेद्वार रहेका उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेद्वारले हराएका हुन्। गुरुङ करिब दोब्बर मतान्तरले पराजित भएका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत लमजुङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का धर्मराज केसी विजयी भएका छन्।
मुख्य निर्वाचन कार्यालय लमजुङका मुख्य निर्वाचन अधिकृत शिशिरराज ढकालका अनुसार केसीले ३३ हजार ८९८ मत प्राप्त गरे।
नेकपा (एमाले)का पृथ्वीसुब्बा गुरुङले १६ हजार ८७६, नेपाली कांग्रेसका गमप्रसाद गुरुङले १६ हजार ५६९ र नेपाली कम्युनिष्ट पार्टीका हरिजङ्ग तामाङले तीन हजार ३७१ मत प्राप्त गरे।
बिजयी भएका केसी र पराजित भएका गुरुङ बिचको मतान्तर १७ हजार २२ रहेको देखिन्छ।
कुल एक लाख ३७ हजार १२४ मतदाता रहेको जिल्लामा ७५ हजार ४६० मत खसेको छ।
स्मरणरहोस्, गुरुङ सञ्चार मन्त्री भएको समयमानै तत्कालिन केपी शर्मा ओली सरकारले सामाजिक सञ्जालहरुमा प्रतिबन्ध लगाएको थियो।
त्यसपछि भएको जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गराएको हो।
प्रकाशित: २३ फाल्गुन २०८२, शनिबार