सामाजिक सञ्जालको लत लगायतका आफ्नै कम्पनीभित्रको अध्ययन प्रतिवेदनमा किन पूर्ण सहमत भएनन् जुकरबर्ग?

  • Technology Khabar | २२ फाल्गुन २०८२, शुक्रबार
सामाजिक सञ्जालको लत लगायतका आफ्नै कम्पनीभित्रको अध्ययन प्रतिवेदनमा किन पूर्ण सहमत भएनन् जुकरबर्ग?

काठमाडौं ।

अमेरिकाको न्यू मेक्सिको राज्यमा बालबालिकाको सुरक्षासम्बन्धी मुद्दाको सुनुवाइका क्रममा मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गको बयान अदालतमा प्रस्तुत गरिएको छ।

रेकर्ड गरिएको उक्त बयानमा उनले कम्पनीभित्र गरिएका सामाजिक सञ्जालको लत लगायतका अध्ययनहरूको महत्वलाई कम गरेर प्रस्तुत गरेका छन्।

इन्ग्याजेटका अनुसार गत वर्ष मार्चमा रेकर्ड गरिएको बयानमा जुकरबर्गलाई कम्पनीका अनुसन्धानकर्ताहरूले तयार पारेका विभिन्न प्रतिवेदनबारे सोधिएको थियो जसले फेसबुक र इन्स्टाग्राम जस्ता एपहरूले विशेषगरी किशोर–किशोरी प्रयोगकर्ताहरूहरूमाथि पार्ने प्रभावबारे अध्ययन गरेका थिए। तर उनले धेरै दस्तावेजहरूको निष्कर्षबारे आफू पूर्ण रूपमा सहमत नभएको संकेत दिएका थिए।

सुनुवाइका क्रममा जुकरबर्गलाई फेसबुक प्रयोगकर्तामा ‘फिडब्याक’ को प्रभावसम्बन्धी एक दस्तावेजबारे सोधिएको थियो। उक्त अध्ययनले प्रयोगकर्ताले पोस्ट गर्दा आउने प्रतिक्रिया (लाइक, कमेन्ट आदि) का कारण उनीहरू पोस्ट गर्ने कार्यलाई पुरस्कारजस्तो अनुभवसँग जोड्न सक्छन् र त्यसले साइट बारम्बार प्रयोग गर्ने प्रवृत्ति बढाउन सक्छ भन्ने उल्लेख गरेको थियो। जुकरबर्गले भने, “व्यवहारमा वास्तवमै त्यस्तै हुन्छ कि हुँदैन भन्नेमा म निश्चित छैन, तर दस्तावेजले त्यही भन्न खोजेको जस्तो देखिन्छ।”

अर्को प्रश्नमा उनलाई ११ र १२ वर्षका बालबालिकामध्ये कति जना इन्स्टाग्रामका मासिक सक्रिय प्रयोगकर्ता थिए भन्ने देखाउने ग्राफबारे सोधिएको थियो। उक्त चार्टअनुसार त्यस बेला करिब २० प्रतिशत ११ वर्षका बालबालिका इन्स्टाग्राम प्रयोगकर्ता थिए।

यसबारे जुकरबर्गले “ग्राफमा त्यस्तो देखिन्छ, तर यसको अनुमान कसरी गरिएको थियो भन्ने विधिबारे आफू परिचित नभएको” बताएका थिए। उनले थपे, “यदि हामीलाई कुनै प्रयोगकर्ता १३ वर्षभन्दा कम उमेरको भएको प्रत्यक्ष जानकारी भएमा, हामीले उनीहरूलाई सेवाबाट हटाउँथ्यौँ।”

न्यू मेक्सिकोका महान्यायाधिवक्ताले सन् २०२३ मा मेटाविरुद्ध मुद्दा दायर गरेका थिए। मुद्दामा कम्पनीले बालबालिकाको सुरक्षामा लापरवाही गरेको, यौन अपराधीहरूलाई नाबालिगसम्म पहुँच सहज बनाएको तथा आफूलाई थाहा हुँदाहुँदै पनि प्रयोगकर्तालाई लत लाग्ने प्रकारका फिचर विकास गरेको आरोप लगाइएको छ।

अदालतमा भने मेटाका वकिलहरू र अधिकारीहरूले सामाजिक सञ्जाललाई ‘लत’ को रूपमा व्याख्या गर्ने धारणा अस्वीकार गरेका छन्। कम्पनीले सार्वजनिक रूपमा पनि यस्ता मुद्दाहरू “सन्दर्भबाहिर निकालिएका उद्धरण र कुराकानीका अंश” मा आधारित भएको दावी गर्दै आएको छ। साथै कम्पनीले एक दशकभन्दा बढी समयदेखि किशोरहरूको सुरक्षालाई वृद्धिभन्दा प्राथमिकता दिएको बताएको छ।

सुनुवाइका क्रममा जुकरबर्गले बारम्बार प्रश्नहरूको “व्याख्या वा प्रस्तुतिकरणसँग असहमति जनाएका थिए। उनका अनुसार मेटाको लक्ष्य प्रयोगकर्तालाई एपमा लामो समय बाँधेर राख्नु नभई एपहरूलाई “उपयोगी” बनाउनु हो।

उक्त बयानमा उनलाई कम्पनीका एक अनुसन्धानकर्ताले तयार पारेको अर्को प्रतिवेदनबारे पनि सोधिएको थियो, जसमा अमेरिकामा बढ्दो वैज्ञानिक प्रमाणले फेसबुकले मानिसहरूको समग्र मानसिक अवस्थामाथि “थोरै नकारात्मक प्रभाव” पार्ने देखाएको उल्लेख गरिएको थियो। जुकरबर्गले भने, “समग्र वैज्ञानिक सहमतिले त्यस्तो निष्कर्ष दिएको छैन भन्ने मेरो बुझाइ हो।”

यसअघि पनि मेटाका अधिकारीहरूले कम्पनीभित्रका अनुसन्धानको महत्व घटाएर देखाउने प्रयास गरेका थिए। सन् २०२१ मा कम्पनीकी पूर्वकर्मचारी तथा व्हिसलब्लोअर फ्रान्सेस ह्युजेनले सार्वजनिक गरेका दस्तावेजहरूमा इन्स्टाग्रामले केही किशोरीहरूलाई आफ्नोबारे अझ खराब महसुस गराएको कम्पनीकै अनुसन्धानले देखाएको खुलासा भएको थियो।

जकरबर्गको बयान प्रस्तुत गरिएको एक दिनअघि अदालतले एडम मोसेरी (इन्स्टाग्राम प्रमुख) को रेकर्ड गरिएको बयान पनि सुनेको थियो। उनले पनि हाउगनले सार्वजनिक गरेका केही अध्ययनलाई “समस्याग्रस्त अनुसन्धान” भन्दै प्रश्न उठाएका थिए। उनका अनुसार कम्पनीले प्रत्येक महिना सयौँ सर्वेक्षणमार्फत अनुसन्धान सञ्चालन गर्ने गर्छ।

प्रकाशित: २२ फाल्गुन २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार