क्रिप्टोकरेन्सी सम्बन्धी ऐतिहासिक विधेयकबारे जारी छलफल फेरि अवरुद्ध

  • Technology Khabar | २२ फाल्गुन २०८२, शुक्रबार
क्रिप्टोकरेन्सी सम्बन्धी ऐतिहासिक विधेयकबारे जारी छलफल फेरि अवरुद्ध

काठमाडौं ।

क्रिप्टोकरेन्सीसम्बन्धी ऐतिहासिक विधेयकबारे जारी छलफल फेरि अवरुद्ध भएको छ। बैंकहरूले ह्वाइट हाउसले अघि सारेको सम्झौता प्रस्तावलाई समर्थन गर्न नसक्ने बताएपछि यस्तो अवस्था आएको हो।

यसले यो वर्षभित्र उक्त विधेयक पारित हुने सम्भावनामा प्रश्न उठाएको छ। यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बैंकहरूलाई उक्त पहल कमजोर पार्ने प्रयास गरेको आरोप लगाउँदै आलोचना गरेका छन्।

क्रिप्टोकरेन्सी उद्योगबाट चुनावी अभियानमा आर्थिक सहयोग लिएका र आफ्नै परिवारले पनि क्रिप्टो टोकनबाट लाभ उठाएको बताइने ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा क्रिप्टो सुधारलाई प्राथमिकतामा राखेका छन्। मंगलबार साँझ उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा पोस्ट गर्दै बैंकिङ उद्योगको आलोचना गरेका थिए। “हामीलाई हाम्रो शक्तिशाली क्रिप्टो एजेन्डा कमजोर पार्न दिने छैनौं,” उनले लेखेका थिए।

क्रिप्टो कम्पनीहरू हालसम्म अस्पष्ट नियामकीय अवस्थामै सञ्चालन गर्दै आएका छन्, जसले व्यवसाय विस्तारमा अवरोध सिर्जना गरेको उनीहरूको भनाइ छ। समर्थकहरूका अनुसार क्ल्यारिटी एक्ट नामको विधेयकले स्पष्ट नियमावली तयार गरी क्रिप्टोकरन्सीको प्रयोग र विस्तारलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ।

तर जनवरीमै उक्त विधेयक अवरुद्ध भएको थियो। कारण के भने, बैंकहरूले स्थिरमुद्रा (स्टेबलक्वाइन) जारीकर्ताहरू र क्रिप्टो कम्पनीहरूलाई ब्याज वा पुरस्कार दिने सुविधा दिन अनुमति दिने प्रावधानको विरोध गरेका थिए। उनीहरूको तर्क अनुसार यसले बैंकबाट निक्षेप बाहिरिने जोखिम बढाउँछ र ऋण प्रवाहका लागि आवश्यक रकम जुटाउन कठिन बनाउँछ।

रोयटर्सका अनुसरा क्वाइनबेसजस्ता क्रिप्टो कम्पनीहरूले भने ग्राहक आकर्षित गर्न पुरस्कार दिन सक्ने अधिकार आवश्यक रहेको बताउँदै यस्तो प्रतिबन्ध प्रतिस्पर्धाविरोधी हुने दावी गरेका छन्। अर्कोतर्फ स्ट्याण्डर्ड चार्टर्ड बैंकको अनुमान अनुसार सन् २०२८ को अन्त्यसम्म स्थिरमुद्राका कारण अमेरिकी बैंकहरूबाट करिब ५०० अर्ब डलर बराबरको निक्षेप बाहिरिन सक्छ।

गत महिना ह्वाइट हाउसले बीचको बाटो खोज्ने प्रयास गरेको थियो। प्रस्तावित सम्झौताअनुसार व्यक्ति–व्यक्तिबीच हुने भुक्तानीजस्ता केही अवस्थामा स्थिरमुद्रामा पुरस्कार दिन अनुमति हुने तर निष्क्रिय रूपमा राखिएको रकममा भने यस्तो सुविधा नदिने व्यवस्था थियो।

क्रिप्टो कम्पनीहरूले उक्त प्रस्ताव स्वीकार गर्ने संकेत देखाए पनि बैंकहरूले अझै समर्थन गर्न नसक्ने बताएका छन्। उनीहरूका अनुसार प्रस्तावित प्रावधानले अझै पनि बैंक निक्षेप बाहिरिने जोखिम बढाउन सक्छ।

यो गतिरोधका कारण विधेयक यस वर्ष कानुन बन्ने सम्भावनामा थप शंका पैदा भएको विश्लेषकहरू बताउँछन्। यसबाहेक, सिनेटमा नैतिकता तथा अवैध वित्तीय गतिविधिसम्बन्धी प्रावधानहरूमा पनि मतभेद छन्। साथै मध्यावधि निर्वाचनको अभियान सुरु हुनुअघि संसद्को समय सीमित भएकाले विधेयक पारित गराउन थप चुनौती देखिएको छ।

यदि नोभेम्बरको निर्वाचनपछि डेमोक्र्याटहरूले अमेरिकी कंग्रेसमा थप सिट जिते भने क्रिप्टोसम्बन्धी नयाँ नियम ल्याउने प्रयास झन् कठिन हुन सक्ने अनुमान गरिएको छ, किनकि डेमोक्र्याट सांसदहरू यस विषयमा विभाजित देखिन्छन्।

डिजिटल सोभरेन्टी एलायन्सका प्रबन्ध निर्देशक एड्रियन वालका अनुसार “यदि जुलाईसम्म यो विधेयक राष्ट्रपतिको टेबलमा पुगेन भने मध्यावधि निर्वाचनका कारण त्यो अवसर बन्द हुने सम्भावना धेरै हुन्छ।” उनले यसलाई क्रिप्टो उद्योगका लागि ठूलो धक्का हुने चेतावनी दिएका छन्।

प्रकाशित: २२ फाल्गुन २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार