
काठमाडौं ।
एप्पल म्युजिकले आफ्नो प्लेटफर्ममा अपलोड हुने गीतहरूमा एआई प्रयोग भएको वा नभएको छुट्याउन नयाँ ‘ट्रान्सपरेन्सी ट्याग ’ प्रणाली थप्ने तयारी गरेको बताइएको छ।
म्युजिक बिजनेस वर्ल्डवाइडको रिपोर्ट अनुसार एप्पलले बुधबार उद्योग साझेदारहरूलाई पठाएको एक न्यूजलेटरमार्फत नयाँ मेटाडाटा प्रणाली ल्याउने योजना स्पष्ट गरेको हो, जसले संगीत निर्माणमा एआई कहिले र कसरी प्रयोग गरिएको छ भन्नेबारे पारदर्शिता बढाउने लक्ष्य राख्छ।
सामान्यतया मेटाडाटामा गीतको शीर्षक, एल्बमको नाम, विधा, कलाकारको नाम जस्ता फाइल व्यवस्थित राख्न मद्दत गर्ने विवरणहरू समावेश हुन्छन्। अब एप्पल म्युजिकले यसमा नयाँ मेटाडाटा ट्याग थप्नेछ, जसले वितरकहरूलाई गीतको कुन पक्षमा एआई प्रयोग गरिएको हो भन्ने चिन्ह लगाउन अनुमति दिनेछ।
टेकक्रञ्चका अनुसार यी ट्यागहरूले गीतको कभर आर्टवर्क, ट्र्याक (संगीत), कम्पोजिसन (गीतका शब्द) वा म्युजिक भिडियो जस्ता भागहरूमा एआई प्रयोग भएको छ कि छैन भन्ने छुट्याउन मद्दत गर्नेछन्।
यस्तो सुविधा प्रयोगकर्ताहरूले चाहेको देखिन्छ। केही दिनअघि Reddit मा एक प्रयोगकर्ताले यस्तै प्रकारको फिचरको नमुना अवधारणा (मक-अप) समेत पोस्ट गरेका थिए।
तर यस्तो ‘अप्ट-इन’ ट्यागिङ प्रणालीमा एउटा समस्या भने छ। एआई प्रयोग भएको जानकारी चिन्हित गर्ने वा नगर्ने निर्णय रेकर्ड लेबल वा वितरककै जिम्मामा रहनेछ, जसले गर्दा सबै सामग्री सही रूपमा चिन्हित नहुन सक्ने सम्भावना रहन्छ।
स्पोटिफाईले पनि एआई सामग्री छुट्याउन समान प्रकारको रणनीति अपनाएको बताइएको छ।
अन्य स्ट्रिमिङ प्लेटफर्महरू जस्तै डीजरले भने आफ्नै एआई-डिटेक्सन उपकरण प्रयोग गरेर एआई सामग्री पहिचान गर्ने प्रयास गरिरहेका छन्। तर यस्ता प्रणालीहरूलाई पूर्ण रूपमा सही बनाउन अझै चुनौतीपूर्ण रहेको बताइएको छ।
प्रकाशित: २२ फाल्गुन २०८२, शुक्रबार