बेलायत, अमेरिका लगायतका देशहरूले सार्वजनिक गरे सिक्सजी सुरक्षा सिद्धान्त

  • Technology Khabar | २२ फाल्गुन २०८२, शुक्रबार
बेलायत, अमेरिका लगायतका देशहरूले सार्वजनिक गरे सिक्सजी सुरक्षा सिद्धान्त

काठमाडौं ।

बेलायत, अमेरिका लगायतका देशहरूले सिक्सजी सुरक्षा सिद्धान्त सार्वजनिक

ग्लोबल कोइलिशन अन टेलिकम्स (जीसीओटी) का सदस्यहरूले मोबाइल वर्ल्ड कङ्रेस २०२६ (एमडब्लूसी२६) मा ‘सिक्सजी सेक्युरिटी एण्ड रेजिलिएन्स प्रिन्सिपल्स’ सार्वजनिक गरेका छन्।

जीसीओटीका संस्थापक सदस्य बेलायत, अमेरिका, क्यानडा, जापान र अष्ट्रेलियासँगै स्विडेन र फिनल्यान्ड पनि हिजो सहभागी हुँदै आगामी मोबाइल पुस्ता सिक्सजीका लागि सुरक्षा र लचकता सम्बन्धी ढाँचा प्रस्तुत गरेका हुन्। “सिद्धान्त” अन्तर्गत सरकारहरूले उद्योगलाई विभिन्न मार्गनिर्देशनहरू पालना गर्न आग्रह गरेका छन्। र यसमा धेरै कम्पनीहरूले समर्थन जनाइसकेको देखिन्छ।

टेलिकम्स डटकमका अनुसार अपरेटरतर्फ एटिएण्डटी, भोडाफोन, राकुटेन मोबाइल, बीटी ग्रुप, केडीडीआई, भर्जिन मिडिया ओटू (भीएमओटू), सफ्टब्याङ्क र टेलस जस्ता कम्पनीहरूको समर्थन रहेको उल्लेख गरिएको छ।

यसैगरी सफ्टवेयर तथा हार्डवेयर विक्रेता र मौलिक उपकरण निर्माताहरूमध्ये नोकिया, एरिक्शन,एनईसी कर्पोरेशन, क्वालकम, सामसङ इलेक्ट्रोनिक्स र कीसाइट टेक्नोलोजिज सूचीमा छन्। साथै आजकल कुनै पनि निर्णय एआई चिप निर्माता एनभिडियाको समर्थनबिना हुने अवस्था छैन।

यसको उद्देश्य सिक्सजी नेटवर्कलाई साइबर र भौतिक खतराबाट सुरक्षित राख्नु, आपूर्ति शृङ्खलालाई लचकदार बनाउनु र निरन्तर भरपर्दो सेवा उपलब्ध गराउन सक्षम बनाउनु हो।

सिक्सजी मानकीकरण पूरा हुनुअघि नै यी सिद्धान्त सार्वजनिक गरिएको समय पनि जानाजानी तय गरिएको हो, किनकि उनीहरू उद्योगले प्रारम्भिक चरणमै यस्ता ढाँचाहरू समावेश गरून् भन्ने चाहन्छन्।

यी सिद्धान्तलाई भविष्यका सिक्सजी मापदण्ड विकास र अनुसन्धान–विकासका लागि आधारका रूपमा प्रयोग गर्ने योजना छ। यी जीसीओटीका पहिलेका प्रकाशनहरू, जस्तै एआई र ओपन आरएएन प्रमाणीकरण सम्बन्धी दस्तावेजहरूमा आधारित रहेको बताइएको छ।

एमडब्लूसी२६ को सन्दर्भमा यो समाचार अर्थपूर्ण देखिन्छ। यस वर्षको कार्यक्रमका मार्केटिङ सन्देशहरू (विशेषगरी विक्रेता पक्षबाट) ‘सबै कुरामा एआई’ भन्ने कथालाई अघि बढाउन केन्द्रित देखिन्छन्।

आगामी मोबाइल पुस्ता सिक्सजी लाई प्रायः “एआई-नेटिभ” नेटवर्कका रूपमा प्रस्तुत गरिन्छ जहाँ विशेष गरी एजेन्टिक एआई को प्रयोगबारे चर्चा भइरहेको छ। एआईले आफ्नै साइबर सुरक्षा जोखिम ल्याउने भएकाले ती विषयलाई अहिले नै सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको बताइएको छ।

यी सिद्धान्तहरू प्रस्तुत गर्दै भनिएको छ, “सिक्सजी नेटवर्क समाजको डिजिटल पूर्वाधारका प्रमुख भाग बन्नेछ, जसले उत्पादन, यातायात, ऊर्जा, स्वास्थ्य सेवा र सार्वजनिक सुरक्षासम्मका आवश्यक सेवा तथा विभिन्न उद्योगहरूलाई आधार दिनेछ।” त्यसैले यसको सम्भावनालाई पूर्ण रूपमा उपयोग गर्न प्राविधिक क्षमता, आर्थिक व्यवहार्यता र बजार माग मात्रै होइन, व्यापक सामाजिक र रणनीतिक दृष्टिकोणबाट पनि हेर्न आवश्यक रहेको तर्क गरिएको छ।

यसअनुसार प्रदान गरिएको मार्गनिर्देशनमा भनिएको छ कि सिक्सजी नेटवर्कले परम्परागत पेरिमिटर सेक्युरिटीबाट हटेर जीरो ट्रस्ट सिद्धान्तअनुसार सूक्ष्म स्तरको सुरक्षा अपनाउनुपर्छ। साथै नेटवर्कको निरन्तर सुरक्षा निगरानी र प्रभावकारी लगिङ प्रणालीमार्फत नेटवर्कका विभिन्न भागमा सम्भावित जोखिमको सम्भावना गतिशील रूपमा मूल्याङ्कन गर्न सक्नुपर्ने टेलिकम्स डटकमले उल्लेख गरेको छ।

सिक्सजी प्रणालीलाई फोरजी, फाइभजीजस्ता पुराना नेटवर्कहरूबाट पर्याप्त रूपमा अलग राख्नुपर्ने पनि उल्लेख गरिएको छ, ताकि पुराना नेटवर्कबाट आउने कमजोरीहरूको जोखिम न्यून होस्।

जोखिम न्यूनीकरणका लागि कडा परीक्षण आवश्यक हुने र नेटवर्क कार्य तथा एप्लिकेसनहरूका लागि बलियो सुरक्षा मापदण्ड लागू गर्नुपर्ने बताइएको छ। साथै “डिप्लोयमेन्ट मोडेल र आर्किटेक्चरहरूले थ्रीजीपीपी लगायतका मानकीकृत नेटवर्क कार्यहरू सञ्चालन गर्न पर्याप्त रूपमा सुरक्षित भौतिक र डिजिटल पूर्वाधार उपलब्ध गराउनुपर्छ” भन्ने पनि उल्लेख गरिएको छ।

एआई सम्बन्धमा सिद्धान्तहरूले एआई-आधारित प्रणालीहरूले सम्भावित साइबर जोखिमहरू छिटो र प्रभावकारी रूपमा पहिचान तथा प्रतिक्रिया दिन सक्ने फाइदा रहेको उल्लेख गरेका छन्, र सिक्सजी प्रणालीहरूले ती फाइदाहरू प्रयोग गर्नुपर्ने बताएका छन्। तर त्यससँगै “दूरसञ्चारमा प्रयोग हुने एआई प्रणालीहरू सुरक्षित र जिम्मेवार ढंगले विकास, प्रयोग र सञ्चालन गरिनुपर्छ” भन्ने पनि जोड दिइएको छ।

सरकारहरूको यस गठबन्धनले सिक्सजी ले सुरुदेखि नै क्वान्टम सेफ क्रिप्टोग्राफी समर्थन गर्नुपर्ने अपेक्षा पनि व्यक्त गरेको छ। यसको कार्यान्वयन उपयुक्त मापदण्ड प्रक्रियामार्फत र बलियो अन्तर्राष्ट्रिय सहकार्यका साथ हुनुपर्ने बताइएको छ।

अन्ततः सिक्सजी नेटवर्क ‘रेजिलिएन्ट बाइ डिजाइन’ हुनुपर्ने उल्लेख गरिएको छ, जसको अर्थ केवल सुरक्षा मात्र होइन, बुद्धिमत्तापूर्ण अनुकूलन र छिटो पुनःस्थापनाको क्षमता पनि समावेश हुनु हो। यी क्षमताहरू प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय रूपमा मानकीकृत मात्रात्मक सूचकहरूद्वारा तिनको परीक्षण गरिनुपर्ने र विभिन्न देशहरूमा प्रयोग गर्न सकिने भरपर्दो प्रदर्शन आधार तयार गरिनुपर्ने बताइएको छ।

हाल यी सिद्धान्तहरूसँग बाध्यकारी नीतिहरू भने जोडिएका छैनन्। तर यस गठबन्धनका सरकारहरू विकासको प्रारम्भिक चरणमै लिइने निर्णयहरूले प्रविधि, अर्थतन्त्र र राष्ट्रिय हितबीच सन्तुलन सुनिश्चित गर्न मद्दत गर्ने अपेक्षामा छन्।

प्रकाशित: २२ फाल्गुन २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार