सिक्सजी प्रविधिको व्यावसायीकरण सन् २०२९ देखि सुरु गर्ने क्वालकमको योजना

  • Technology Khabar | २१ फाल्गुन २०८२, बिहीबार
सिक्सजी प्रविधिको व्यावसायीकरण सन् २०२९ देखि सुरु गर्ने क्वालकमको योजना

काठमाडौं ।

चिप निर्माता कम्पनी क्वालकमले सिक्सजी प्रविधिको व्यावसायीकरण सन् २०२९ देखि सुरु गर्ने लक्ष्य सार्वजनिक गरेको छ। सामान्य अनुमानअनुसार पहिलो व्यावसायिक सिक्सजी सेवा २०३० तिर प्रारम्भिक बजारहरूमा सुरु हुने अपेक्षा गरिएको छ।

तर क्वालकम र यसका साझेदारहरूले त्यसअघि नै तयारी पूरा गर्ने योजना बनाएका छन्। मोबाइल वर्ल्ड कांग्रेस (एमडब्लूसी) मा सार्वजनिक गरिएको रणनीतिअनुसार २०२८ मै ६जी–अनुरूप पूर्व–व्यावसायिक उपकरण र नेटवर्क सुरु गर्ने, र २०२९ देखि अन्तरसञ्चालनयोग्य सिक्सजी प्रणालीको प्रारम्भिक विश्वव्यापी रोलआउट गर्ने लक्ष्य राखिएको छ।

यस उद्देश्यका लागि क्वालकमले अपरेटर, नेटवर्क उपकरण निर्माता, डिभाइस निर्माता, क्लाउड सेवा प्रदायक, अटोमोबाइल कम्पनी र ऊर्जा क्षेत्रका कम्पनीहरू सम्मिलित ५० भन्दा बढी संस्थासहित ‘स्ट्राटेजिक कोएलिसन’ गठन गरेको छ।

यस समूहमा चाइना मोबाइल, चाइना टेलिकम र चाइना यूनियनजस्ता चीनका प्रमुख अपरेटरहरू, बीटी ग्रुप, एसके टेलेकम, एनटीटी डोकोमो, टी-मोबाइल, एरिक्सन, नोकिया, सामसङ इलेक्ट्रोनिक्स, अमेजन, गुगल, माइक्रोसफ्ट, सिस्को, शाओमी र हुण्डाई लगायतका कम्पनीहरू सहभागी छन्।

यो गठबन्धनले डिभाइस, नेटवर्क र क्लाउड इन्फ्रास्ट्रक्चर गरी तीन प्रमुख ‘आर्किटेक्चरल डोमेन’ मा काम गर्नेछ। क्वालकम का अनुसार सिक्सजी ‘एआई-नेटिभ’ नेटवर्क हुनेछ, जहाँ कनेक्टिभिटी, वाइड–एरिया सेन्सिङ र उच्च–प्रदर्शन कम्प्युट एकै ठाउँमा भेटिन्छन्।

क्वालकमका सीईओ क्रिस्टियानो आमोनले ६जी केवल वायरलेस प्रविधिको अर्को चरण नभई एआई–आधारित भविष्यको आधार भएको बताए। उनका अनुसार सिक्सजीले डिभाइस, एज र क्लाउडमा बुद्धिमत्ता वितरण गरी नेटवर्क प्रदायकलाई एआई–सञ्चालित उद्यममा रूपान्तरण गर्नेछ।

तर क्वालकम को लक्ष्य पूरा गर्न राष्ट्रिय दूरसञ्चार नियामक निकायहरूको स्पेक्ट्रम नीतिले महत्वपूर्ण भूमिका खेल्नेछ। स्पेक्ट्रम बिना व्यावसायिक सिक्सजी सम्भव नहुने भएकाले २०२९ को लक्ष्य महत्वाकांक्षी मानिएको छ।

यसैबीच क्वालकमले एआई–सक्षम वेयरेबल चिपसेट पनि सार्वजनिक गरेको छ। नयाँ स्न्यापड्रागन वेयर एलिटमा न्यूरल प्रोसेसिङ युनिट (एनपीयू) समावेश गरिएको छ जसले डिभाइसमै एआई वर्कलोड सञ्चालन गर्न सक्छ। यसमा फाइभजी रेडक्याप, वाई-फाई, ब्लुटूथ, यूडब्लूबी, जीएनएसएस र एनबी-एनटीएनजस्ता विभिन्न कनेक्टिभिटी सुविधा छन्।

कम्पनीका अनुसार यो चिपसेट जडान गरिएका पहिलो व्यावसायिक वेयरेबल डिभाइसहरू केही महिनाभित्र बजारमा आउने अपेक्षा गरिएको छ।

प्रकाशित: २१ फाल्गुन २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार