
काठमाडौं ।
अमेरिकामा केही प्रयोगकर्ताका लागि टिकटकसेवा अवरुद्ध भएको छ। कम्पनीले यो समस्या ओर्याकलको डाटा सेन्टरमा आएको गडबडीका कारण भएको जनाएको छ।
टिकटकले एक्समा पोस्ट गर्दै भनेको छ, “ओर्याकलले समस्या समाधान गरिरहँदा कन्टेन्ट पोस्ट गर्दा क्रिएटरहरूले अस्थायी रूपमा ढिलाइ अनुभव गर्न सक्छन्।”
प्रयोगकर्ताबाट संकलित रिपोर्टहरू देखाउने डाउनडिटेक्टरका अनुसार समस्या मंगलबार बिहान ९ बजे (इस्टर्न टाइम) अर्थात् नेपाली समयअनुसार बेलुकी पौने ८ बजेभन्दा पछाड सुरु भएको थियो। ओर्याकलले पनि आफ्नो पोस्टमा त्यही समयतिर सेवा अवरुद्ध भएको संकेत दिएको छ।
यूएसडीएस सम्झौता र ओर्याकलको भूमिका
ओर्याकल, टिकटकको अमेरिकी कारोबार व्यवस्थापन गर्न गठन गरिएको टिकटक यूएसडीएस ज्वाइन्टभेन्चरमा ८० प्रतिशत स्वामित्व राख्ने लगानीकर्ता समूहको हिस्सा हो। यो संयुक्त उद्यम अमेरिकी राष्ट्रिय सुरक्षा कानुन पालना गर्न गठन गरिएको थियो, जसअनुसार चिनियाँ कम्पनी बाइटडान्सलाई आफ्नो अमेरिकी टिकटक व्यवसाय बेच्न वा अमेरिकामा प्रतिबन्ध भोग्नुपर्ने अवस्था थियो।
टिकटक यूएसडीएस गठन हुनुभन्दा अघि नै ओर्याकलले टिकटकलाई क्लाउड सेवा प्रदान गर्दै आएको थियो र प्रयोगकर्ताको डाटा व्यवस्थापनको जिम्मा पनि सम्हाल्दै आएको थियो। बिक्री प्रक्रिया पूरा भएपछि ओर्याकल सम्बन्धित समस्याका कारण टिकटकमा दोस्रो ठूलो अवरोध देखिएको हो।
गत जनवरीमा बिक्री प्रक्रिया अन्तिम रूप पाएलगत्तै पनि यस्तै सेवा अवरुद्ध भएको थियो। त्यतिबेला टिकटकले कडा हिउँदे आँधीका कारण ओर्याकलको प्रमुख डाटा सेन्टर प्रभावित भएको जनाएको थियो।
हालसम्म ओर्याकलले मंगलबारको अवरोधको ठोस कारण सार्वजनिक गरेको छैन।
प्रकाशित: २० फाल्गुन २०८२, बुधबार