नियरबाइ ग्लासेज: नजिकै कसैले स्मार्ट चस्मा लगाएको बारे यो एपले बताउने

  • Technology Khabar | २० फाल्गुन २०८२, बुधबार
नियरबाइ ग्लासेज: नजिकै कसैले स्मार्ट चस्मा लगाएको बारे यो एपले बताउने

काठमाडौं ।

नजिकै कसैले स्मार्ट चस्मा लगाएको भए सचेत गराउने नयाँ एप सार्वजनिक भएको छ।

भिडियो रेकर्डिङ क्यामेरा जडित स्मार्ट चस्मा जस्ता “लक्जरी सर्भिलेन्स” उपकरणको मुख्य समस्या भनेको ती सामान्य चस्माजस्तै देखिनु हो। त्यसैले कसैले थाहा नपाई रेकर्ड हुन सक्ने जोखिम रहन्छ।

अब भने एन्ड्रोइडका लागि बनाइएको “नियरबाइ ग्लासेज” नामक एपले नजिकै कसैले स्मार्ट चस्मा वा सधैं रेकर्डिङ गर्ने अन्य उपकरण प्रयोग गरिरहेको छ कि छैन भन्ने पत्ता लगाएर प्रयोगकर्तालाई सूचना दिन सक्छ।

यो एपले ब्लुटुथ सक्षम उपकरणबाट निस्कने सिग्नल स्क्यान गर्छ। यसले विशेष गरी मेटा र ओक्ली तथा स्न्यापद्वारा बनाइएका वेयरेबल उपकरणहरूका सिग्नल पत्ता लगाउन सक्छ।

सधैं रेकर्ड वा सुन्ने उपकरणप्रति विरोध बढिरहेका बेला यो एप सार्वजनिक भएको हो। आलोचकहरूका अनुसार यस्ता उपकरणले वरिपरिका मानिसको अनुमति बिना नै उनीहरूको जानकारी प्रशोधन गर्न सक्छन्।

एप निर्माणकर्ता यिभ्स जिनरेनाउडले ४०४ मिडियासँगको कुराकानीमा आफूले वेयरेबल सर्भेलेन्स उपकरणसम्बन्धी समाचार पढेपछि यो एप बनाउने प्रेरणा पाएको बताएका छन्। उनले विशेष गरी मेटाका रे-ब्यान स्मार्ट चस्मा आप्रवासन कारबाहीमा प्रयोग भएको र यौनकर्मीहरूलाई फिल्मिङ तथा हैरानी गर्न प्रयोग गरिएको रिपोर्टबाट प्रभावित भएको बताएका छन्।

एपको परियोजना पृष्ठमा जिनरेनाउडले स्मार्ट चस्मालाई “असह्य हस्तक्षेप गर्ने, सहमति बेवास्ता गर्ने, खराब प्रविधि” भनेर वर्णन गरेका छन्।

उनले आफूले स्मार्ट चस्मासँग जोडिएका दुरुपयोगको व्यापकता र अमानवीय स्वरूप देखेपछि यस्तो कदम चालेको बताएका छन्। उनले मेटाले आफ्ना स्मार्ट चस्मामा फेस रिकग्निसनलाई पूर्वनिर्धारित सुविधाका रूपमा समावेश गर्ने निर्णयलाई पनि गोपनीयतामाथि आक्रमण बढाउने ढोका खोलेको भन्दै आलोचना गरेका छन्।

एपले वरिपरि रहेका ब्लुटुथ सिग्नल सुन्छ, जसमा उपकरण निर्माता पहिचान गर्न सकिने सार्वजनिक कोड हुन्छ। यदि एपले मेटा वा स्न्यापद्वारा निर्मित उपकरणको सिग्नल फेला पार्यो भने प्रयोगकर्तालाई सचेत सन्देश पठाउँछ। प्रयोगकर्ताले चाहेमा अन्य ब्लुटुथ पहिचान नम्बर पनि थप्न सक्छ, जसले थप उपकरण पत्ता लगाउन मद्दत गर्छ।

जिनरेनाउडका अनुसार एपले कहिलेकाहीँ गलत संकेत पनि दिन सक्छ। उदाहरणका लागि मेटाद्वारा निर्मित भर्चुअल रियलिटी हेडसेट पत्ता लगाउँदा स्मार्ट चस्मा ठानेर सूचना दिन सक्छ। तर भर्चुअल रियलिटी हेडसेट सामान्यतया ठूलो र सजिलै देखिने भएकाले छुट्याउन सकिन्छ।

परीक्षणका क्रममा एन्ड्रोइड फोनमा एप चलाएर सहर वरिपरि हिँड्दा कुनै स्मार्ट चस्मा प्रयोगकर्ता भेटिएन र कुनै सूचना पनि प्राप्त भएन। तर Apple का उपकरण पत्ता लगाउन 0x004C ब्लुटुथ पहिचान नम्बर थपेपछि फोनमा धेरै सूचना आएका थिए, जसले वरिपरि रहेका एप्पल उपकरणहरू पत्ता लागेको संकेत दिएको थियो। यसले एपले अपेक्षाअनुसार काम गरेको देखाएको छ।

जिनरेनाउडले नयाँ सुविधाहरू थप्ने काम जारी रहेको बताएका छन्। उनले आईफोन संस्करणको माग भए पनि समय र उपलब्धतामा निर्भर रहने बताएका छन्।

उनका अनुसार यो प्रविधिले सिर्जना गरेको सामाजिक समस्याको प्राविधिक समाधान मात्र हो र समस्या छिट्टै समाप्त नहुने छ। उनले यसलाई कम्तीमा कसैलाई सहयोग पुग्ने आशासहितको “अन्तिम प्रयास” को रूपमा वर्णन गरेका छन्।

मेटा र स्न्यापका प्रवक्ताहरूले यस विषयमा प्रतिक्रिया नदिएका टेकक्रञ्चले उल्ललेख गरेको छ ।

प्रकाशित: २० फाल्गुन २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार