जीएसएमएले सार्वजनिक गर्यो टेलिकम क्षेत्रका लागि विशेष रूपमा काम गर्ने कृत्रिम बुद्धिमत्ता पहल ‘ओपन टेल्को एआई’

  • Technology Khabar | २० फाल्गुन २०८२, बुधबार
जीएसएमएले सार्वजनिक गर्यो टेलिकम क्षेत्रका लागि विशेष रूपमा काम गर्ने कृत्रिम बुद्धिमत्ता पहल ‘ओपन टेल्को एआई’
एआईमार्फत् बनाइएको सांकेतिक तस्बिर

काठमाडौं ।

जीएसएमएले टेलिकम क्षेत्रका लागि विशेष रूपमा काम गर्ने एआई विकास गर्ने उद्देश्यसहित नयाँ पहल सुरु गरेको छ। यस वर्षको मोबाइल वर्ल्ड कङ्रेस २०२६(एमडब्लूसी) मा एआई मुख्य विषय बनेको सन्दर्भमा जीएसएमएले ओपन टेल्को एआई नामक पहल सार्वजनिक गरेको हो।

ओपन टेल्को एआईको लक्ष्य अपरेटर र तिनका नेटवर्कको विशेष आवश्यकतालाई सम्बोधन गर्ने एआईमोडेल र सेवाको विकास तथा प्रयोगलाई तीव्र बनाउनु हो।

जीएसएमएका अनुसार अहिलेका लोकप्रिय फ्रन्टियर एआईमोडेलहरू जस्तै ओपनएआईको जीपीटी-५, गुगलको जेमिनी र एन्थ्रोपिकको क्लोड सामान्य प्रयोजनका काममा प्रभावकारी भए पनि टेलिकमसँग सम्बन्धित काममा कमजोर देखिएका छन्।

ती मोडेलहरूलाई नेटवर्क डेटा व्याख्या गर्न, प्राविधिक मापदण्डसम्बन्धी कागजात बुझ्न तथा पर्याप्त शुद्धतासहित नेटवर्क सञ्चालन स्वचालित गर्न कठिनाइ भइरहेको जीएसएमए को दावी छ।

जीएसएमएको अनुसन्धान इकाइ जीएसएमए इन्टेलिजेन्स अनुसार टेलिकम क्षेत्रमा प्रयोग भइरहेको जेनेरेटिभ एआईमध्ये केवल १६ प्रतिशत मात्र नेटवर्क र नेटवर्क सञ्चालनमा केन्द्रित छन् जबकि यो क्षेत्र उद्योगको सबैभन्दा ठूलो खर्च हुने भाग हो।

टेलिकम्स डटकमका अनुसार ओपन टेल्को एआईले टेलिकम-विशेष खुला मोडेल, डाटा, कम्प्युट र उपकरणका लागि एउटा पोर्टल उपलब्ध गराउनेछ, जसले टेलिकम केन्द्रित एआईमोडेलको विकास र मूल्याङ्कनलाई गति दिने अपेक्षा गरिएको छ।

जीएसएमएका एआई पहल निर्देशक लुइस पावेलले भने, “आजका एआई मोडेलहरू टेलिकम उद्योगले माग गर्ने जटिलता, शुद्धता र विश्वसनीयतामा अझै पुग्न सकेका छैनन्। सरल रूपमा भन्नुपर्दा एआईले अझै टेलिकमको भाषा बोल्न सकेको छैन र अपरेटरहरूले कहिलेकाहीँ आवश्यक स्तरको शुद्धता, सुरक्षा वा दक्षता नपुग्ने प्रविधि प्रयोग गरिरहेका छन्।”

उनका अनुसार स्पष्ट मापदण्ड स्थापना गर्नु र डाटा, मोडेल तथा एजेन्टिक प्रणालीमा उद्योगभर सहकार्य गर्नु आवश्यक छ। उनले वित्त र स्वास्थ्यजस्ता नियमनित क्षेत्रले पनि यस्तै मोडेल अपनाउन सक्ने बताए।

ओपन टेल्को एआईका संस्थापक समर्थकमा एटीएण्डटी र चिप निर्माता एएमडी रहेका छन्। एटीएण्डटीले हार्डवेयर र क्लाउड–तटस्थ खुला टेलिकम मोडेलहरूको श्रृंखला सार्वजनिक गर्नेछ भने एएमडीले आफ्नो डाटा सेन्टर साझेदार टेन्सरवेभसँग मिलेर मोडेल तालिम, फाइन–ट्युनिङ, इन्फरेन्स र मूल्याङ्कनका लागि कम्प्युट क्षमता उपलब्ध गराउने टेलिकम्स डटकमले उल्लेख गरेको छ।

के हो एआई एग्नोस्टिसिजम?

एआई एग्नोस्टिसिजम अर्थात् एआई वा एआई कम्पनीप्रतिको ‘अन्धभक्ति’ नदेखाउने तटस्थ दृष्टिकोण हो। यसको मतलब तपाईं एआईलाई उपयोगी उपकरण हो भन्ने मान्नुहुन्छ, तर यसलाई सबै समस्याको समाधान वा सत्यको अन्तिम स्रोत ठान्नुहुन्न।

एआई एग्नोस्टिक व्यक्ति वा कम्पनीले कुन एआई प्रयोग गर्ने भन्ने निर्णय समस्या अनुसार गर्छ। कहिले कुन मोडल सस्तो, छिटो वा सही हुन्छ त्यही प्रयोग गर्छ। उनीहरू एउटै कम्पनीको एआईमा अडिँदैनन्।

यसको मुख्य सिद्धान्त स्वतन्त्रता अर्थात् कम्पनी वा टेक्नोलोजीको बन्धक नहुनु, व्यवहारिकता अर्थात् जुन एआईले काम राम्रो गर्छ, त्यही प्रयोग गर्नु र सचेत दृष्टिकोण अर्थात् एआई पूर्ण छैन, यसको सीमितता छ भन्ने बुझ्नु हो।

एटीएण्डटीका प्रमुख डेटा तथा एआईअधिकृत एन्डी मार्कसले भने, “टेलिकम उद्योगलाई नेटवर्कको वास्तविकता बुझ्ने एआईचाहिन्छ, सामान्य मोडेललाई टेलिकम कामका लागि रूपान्तरण गर्ने मात्रै पर्याप्त हुँदैन। ओपन टेल्को एआईमार्फत हामी टेलिकम–स्तरको एआईसम्भव बनाउन आवश्यक डाटा, मोडेल र मूल्याङ्कन ढाँचा निर्माणमा सहयोग गरिरहेका छौं।”

एएमडीका कार्यकारी उपाध्यक्ष तथा प्रमुख वाणिज्य अधिकृत फिलिप गुइडोले भने, “टेलिकम नेटवर्क एआईका लागि अत्यन्त जटिल र नियमनित वातावरण हुन्। डेमोबाट वास्तविक टेलिकम–स्तरको प्रदर्शनमा पुग्न खुला डेटा, वर्कलोड र कम्प्युट आधार आवश्यक हुन्छ।”

ओपन टेल्को एआईलाई समर्थन गर्ने अन्य संस्थामा एनभिडिया, अरेञ्ज, एसके टेलिकम, सफ्टब्याङ्क, स्विसकम, टर्कसेल, भोडाफोन लगायत शैक्षिक तथा औद्योगिक क्षेत्रका विभिन्न संस्थाहरू रहेका छन्।

जीएसएमए को यो पहलले विश्वका ठूला एआईकम्पनीहरूको सीमिततालाई केही हदसम्म उजागर गरेको रूपमा हेरिएको छ। जब एआईकम्पनीहरूले सुपरकम्प्युटरमा सयौं अर्ब डलर खर्चको औचित्य पुष्टि गर्न खोजिरहेका छन्, त्यही बेला टेलिकमजस्तो ठूलो क्षेत्रले आफ्नै बाटो रोज्नु उद्योगका लागि अर्थपूर्ण संकेत मानिएको छ।

प्रकाशित: २० फाल्गुन २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार