
काठमाडौं ।
एरिक्सनले सिक्सजीतर्फ क्रमिक विकासमा जोड दिएको छ। मोबाइल वर्ल्ड कङ्रेस २०२६ (एमडब्लू २०२६) मा एरिक्सनसँग नेटवर्कमा थप एआई प्रयोग गर्ने योजनाबारे र अर्को अपग्रेड चक्रप्रति अपरेटरहरूको प्रतिक्रिया कस्तो छ भन्ने विषयमा छलफल गरिएको थियो।
एमडब्लू २०२६ मा एरिक्सनको मुख्य घोषणा भनेको इन्टेलसँगको हालको साझेदारी विस्तार गर्नु हो। दुवै कम्पनीले “एआई-नेटिभ सिक्सजी” समाधानको संयुक्त विकास र व्यावसायीकरण गर्ने भएका छन्। कम्पनीका अनुसार, बुद्धिमान र प्रोग्राम गर्न मिल्ने नेटवर्कलाई उन्नत कम्प्युट र रियल-टाइम सेन्सिङसँग जोड्ने संरचना निर्माण गर्ने योजना छ, जसले अझ छिटो, प्रभावकारी र सक्षम सेवाको आधार तयार गर्नेछ।
कार्यक्रमका क्रममा एरिक्सनकी ग्रुप मार्केटिङ प्रमुख सेसिलिया अटरवालसँग नेटवर्कमा किन थप एआई आवश्यक छ भन्ने विषयमा प्रश्न गरिएको टेलिकम्स डटकमले उल्लेख गरेको छ।
उनले भनिन्, “हामीले सुरुदेखि नै नेटवर्कभित्र AI सक्षम बनाउने क्षेत्रमा धेरै वर्षदेखि लगानी गरेका छौं। अहिले एआई ठूलो भाषा मोडेलबाट एजेन्टिक एआई र फिजिकल एआईतर्फ जाँदै गर्दा एआई वर्कलोडका लागि नेटवर्क कसरी बनाउने भन्ने विषयमा पनि पुनर्विचार गर्नुपर्छ। एआईले नेटवर्कलाई अझ राम्रो बनाउने र सञ्चालन गर्न सहयोग गरिरहेको छ। एआईका लागि उत्कृष्ट नेटवर्क बनाउने सन्दर्भमा हेर्दा एआई वर्कलोड बढेसँगै नेटवर्क प्रयोगमा केही परिवर्तन देखिन्छ। केही परिवर्तनहरू एआर र भीआरजस्ता नयाँ डिभाइससँग देखिएका परिवर्तनजस्तै छन्।”
उनले थपिन्, “अब अपलिंकमा धेरै प्रभाव पर्नेछ। अपरेटरहरूले नेटवर्कमा माथिल्लो दिशातर्फ जाने ट्राफिक बढ्ने विषयमा सोच्नुपर्ने हुन्छ। अहिले धेरैजसो ट्राफिक डाउनलिंकमा केन्द्रित छ, तर आगामी दिनमा अपलिंक ट्राफिक बढ्नेछ। यसलाई नयाँ मूल्य निर्धारणको आधारका रूपमा पनि लिन सकिन्छ।”
उनका अनुसार, नेटवर्कभित्र कम्प्युट कहाँ हुने भन्ने विषयमा पनि सोच्नुपर्ने हुन्छ—केन्द्रमा गर्ने कि नेटवर्कको किनारमा गर्ने भन्ने कुरा वर्कलोडअनुसार फरक पर्न सक्छ। यो विषय आफ्नै नेटवर्कको योजना र एआई वर्कलोड दुवैसँग सम्बन्धित छ। “समग्रमा हाम्रो लागि यो विषयलाई व्यवहारमा उतार्ने कुरा हो,” उनले भनिन्।

अपरेटरहरू अर्को नेटवर्क अपग्रेड प्रक्रियामा जान अनिच्छुक छन् कि भन्ने प्रश्नमा अटरवालले विभिन्न बजारमा अवस्था फरक हुने बताइन्। उनका अनुसार, ठूलो ग्राहक आधार भएका बजार र अन्य बजारबीच लगानीको अवस्था फरक हुन्छ।
एरिक्सनको पछिल्लो मोबिलिटी रिपोर्ट अनुसार विश्वभर स्ट्याण्डअलोन प्रविधिका ६५ वटा व्यावसायिक सेवा सञ्चालनमा आइसकेका छन्। युरोप, जहाँ मोनेटाइजेसन चुनौतीपूर्ण मानिन्थ्यो, त्यहाँ पनि आधाजति उदाहरण देखिएका छन्।
उनले भनिन्, “भारत, अमेरिका वा चीनजस्ता ठूलो जनसंख्या भएका बजारमा मात्र होइन, विश्वभर विभिन्न किसिमका पहल भइरहेका छन्। तर मोनेटाइजेसन अझै पनि मुख्य प्रश्न हो। त्यसैले हामी यस विषयमा विशेष ध्यान दिइरहेका छौं। नेटवर्कलाई क्रमिक रूपमा विकास गर्ने हाम्रो दृष्टिकोणले लगानीसँगै समयक्रममा आम्दानीको अवसर देखाउन सहयोग पुर्याउँछ।”
क्रमिक नेटवर्क विकासको सन्दर्भमा नयाँ पुस्ताको कनेक्टिभिटीलाई ‘जी’ का आधारमा छुट्याउने चलन कत्तिको उपयुक्त छ भन्ने प्रश्नमा उनले भनिन्, “हाम्रो उद्योगका केही पक्ष यथावत रहनेछन्। सिक्सजी सँग नयाँ रेडियो एक्सेस टेक्नोलोजी र नयाँ स्पेक्ट्रम आउनेछ। तर नेटवर्कका धेरै पक्षहरू सानो र सहज विकासमार्फत अघि बढ्नेछन्। उदाहरणका लागि फाइभजी स्ट्याण्डअलोन कोरमा लगानी गरिसकेपछि सिक्सजी तर्फ जान सहज हुन्छ।”
उनले थपिन्, “एआई र स्वचालित नेटवर्कजस्ता क्षेत्रमा गरिने लगानी पनि फाइभजीबाटै सुरु भएको सहज विकास हो। सिक्सजीले नयाँ स्पेक्ट्रम र नयाँ रेडियो प्रविधि ल्याए पनि यो समयसँगै हुने क्रमिक विकास नै हो। हामी अहिले नै हार्डवेयर र सफ्टवेयरलाई एआई तयार बनाउँदै सिक्सजीका लागि सक्षम हुने गरी योजना बनाइरहेका छौं।”
प्रकाशित: २० फाल्गुन २०८२, बुधबार