
काठमाडौं ।
अलास्काको प्रतिनिधि सभाले बालबालिकाले सामाजिक सञ्जाल एप प्रयोग गर्ने समय र तरिकामा कडा सीमा तोक्ने तथा बालबालिकासम्बन्धी हानिकारक डिपफेक सामग्री उत्पादन वा वितरणमा प्रतिबन्ध लगाउने एचबी४७ विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ।
विधेयकको प्रारम्भिक रूप कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरी बालबालिकाका यौन स्पष्ट तस्बिर राख्ने र वितरण गर्ने कार्यमा प्रतिबन्ध लगाउनेमा केन्द्रित थियो। तर अलास्काका सांसदहरूले त्यसमा संशोधन थप्दै सामाजिक सञ्जाल प्रयोगसम्बन्धी व्यापक प्रतिबन्धहरू समावेश गरेका हुन्।
प्रस्तावित व्यवस्थाअनुसार राति १०:३० बजेदेखि बिहान ६:३० बजेसम्म राज्यव्यापी रूपमा सामाजिक सञ्जाल प्रयोगमा कर्फ्यु लगाइनेछ। साथै, “लत लाग्ने डिजाइन सुविधा” प्रतिबन्धित गरिनेछ र सामाजिक सञ्जाल कम्पनीहरूले प्रयोगकर्ताको उमेर प्रमाणीकरण गर्नुपर्नेछ। यदि प्रयोगकर्ता नाबालक भएमा अभिभावकको सहमति लिन अनिवार्य हुने इन्ग्याजेटले उल्लेख गरेको छ।
प्रतिनिधि सभामा विधेयक ३९ मत पक्षमा र शून्य मत विपक्षमा पारित भए पनि संशोधनहरूले आगामी परिवर्तनको संकेत दिएका छन्। मतदान अघि केही सांसदहरूले सम्बन्धित कम्पनीहरूसँग परामर्श नगरी यति व्यापक नियम थपिएको विषयमा चिन्ता व्यक्त गरेका थिए।
विधेयक अब अलास्का राज्य सिनेट हुँदै गभर्नरको स्वीकृतिका लागि अघि बढ्नेछ। अलास्का अन्य धेरै राज्यहरूको कदम पछ्याउँदै अघि बढेको हो र प्रतिनिधि सभाले एचबी४७ मा सामाजिक सञ्जालसम्बन्धी संशोधन तयार गर्दा यूत:लाई आधार मानेको जनाएको छ।
यूत: सामाजिक सञ्जालमा बालबालिकामाथि प्रतिबन्ध प्रस्ताव गर्ने पहिलो राज्य थियो तर उक्त प्रस्ताव पछि प्रारम्भिक अदालती आदेशबाट रोकिएको थियो।
प्रकाशित: १७ फाल्गुन २०८२, आईतवार