
काठमाडौं ।
कालिकोटमा ‘रिमोटली प्वाइन्टेट एयरक्राप्ट’ (आरपीए) र ‘ड्रोन क्यामरा’ उडाउन तीन दिनका लागि प्रतिबन्ध लगाइएको छ। यही फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरेर निर्वाचन भन्दा तीन दिनअघिदेखि निर्वाचन सम्पन्न नहुँदासम्मका लागि आरपीए र ड्रोन उडाउन प्रतिबन्ध लगाउने निर्णय जिल्ला सुरक्षा समितिले गरेको हो।
सूचना प्रविधिको विकाससँगै पछिल्लो समयमा व्यक्तिगत र संस्थागत तवरबाट विभिन्न उद्देश्यहरू लिई आरपीए/ड्रोनलगायत उपकरणको प्रचलन बढ्दै आएको र सुरक्षा अवस्थामा असर नपुग्नेगरी उडान, अनुमति र अन्य नियमनसम्बन्धी व्यवस्थालाई अद्यावधिक गर्न मानवरहित हवाई उपकरण आरपीए/ड्रोन उडानसम्बन्धी कार्यविधि, २०७५ जारी भई लागूसमेत भइसकेकाले निर्वाचन अवधिमा उडान गर्न प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले बताए।
निर्वाचनको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी अनुमति लिई सञ्चालनमा रहेका ड्रोन प्रयोगकर्ताको हकमा निर्वाचन मितिभन्दा तीन दिन अगाडिदेखि निर्वाचन सम्पन्न नहुँदासम्म आरपीए/ड्रोन उडान प्रतिबन्ध लगाइएको उनले बताए। उनले निर्वाचन अवधिमा सुरक्षा निकायबाहेक अन्य व्यक्ति/संस्थालाई ड्रोन उडानमा रोक लगाउने निर्णय भएको र अन्यथा प्रचलित कानुनबमोजिम कारबाही हुने उल्लेख गरे। रासस
प्रकाशित: १५ फाल्गुन २०८२, शुक्रबार