गुगललाई म्याप्स डाटा निर्यात गर्न दक्षिण कोरियाको अनुमति

  • Technology Khabar | १५ फाल्गुन २०८२, शुक्रबार
गुगललाई म्याप्स डाटा निर्यात गर्न दक्षिण कोरियाको अनुमति

काठमाडौं ।

वर्षौंदेखि विदेशी पर्यटक र प्रयोगकर्ताले भोग्दै आएको असुविधापछि दक्षिण कोरियाले गुगललाई देशको अत्यन्तै सटीक म्याप्स डाटा विदेशी सर्भरमा निर्यात गर्न सशर्त अनुमति दिएको छ। सरकारले शुक्रबार गरेको निर्णयसँगै कोरियामा गुगल म्याप्स पूर्ण रूपमा सञ्चालन हुने बाटो खुलेको मानिएको छ।

भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार सरकारी अधिकारी र निजी विज्ञहरूको समीक्षा पश्चात् गुगलको १ः५,००० स्केलको विस्तृत म्यापिङ डाटा निर्यात गर्ने अनुरोध स्वीकृत गरिएको हो । तर उक्त अनुमति नेभिगेसन सेवाका लागि आवश्यक सीमित डाटामात्र स्थानान्तरण गर्न पाइने, उचाइ रेखाजस्ता संवेदनशील विवरण समावेश नगर्ने र थप सुरक्षा उपाय अपनाउने सर्तमा दिइएको मन्त्रालयले स्पष्ट पारेको छ ।

मन्त्रालयका अनुसार गुगलले पहिलो चरणमा डाटा दक्षिण कोरियाभित्रैका सर्भरमा प्रशोधन गर्नुपर्नेछ र त्यसपछि मात्र सरकारी स्वीकृति लिएर निर्यात गर्न पाउनेछ। साथै, दक्षिण कोरियाली भूभागसँग सम्बन्धित सटीक निर्देशाङ्क हटाउन र गुगल अर्थ तथा स्ट्रिट भ्यूजस्ता समय–शृङ्खला सेवामा सैन्य तथा अन्य संवेदनशील स्थलका स्याटेलाइट र हवाई तस्वीरहरू धमिलो (ब्लर) बनाउनुपर्ने माग पनि सरकारले राखेको छ।

सरकारले गुगललाई म्याप्स डाटा निर्यातसम्बन्धी विषय व्यवस्थापन गर्न दक्षिण कोरियामा एक अनुपालन अधिकारी नियुक्त गर्न निर्देशन दिएको छ। तोकिएका सर्तहरू पालना नभए स्वीकृति निलम्बन वा रद्द गर्न सकिने मन्त्रालयले जनाएको छ।

गुगलका सरकारी मामिला तथा सार्वजनिक नीतिका उपाध्यक्ष क्रिस टर्नरले इमेलमार्फत जारी वक्तव्यमा कम्पनीले ‘आजको निर्णयलाई स्वागत गरेको’ र ‘कोरियामा पूर्ण रूपमा कार्यशील गुगल नक्सा उपलब्ध गराउन स्थानीय अधिकारीहरूसँग निरन्तर सहकार्य गर्ने अपेक्षा’ राखेको बताए।

यसअघि दक्षिण कोरियाले राष्ट्रिय सुरक्षासम्बन्धी चिन्ता र संवेदनशील भौगोलिक जानकारी घरेलु सर्भरमै राख्नुपर्ने नीतिका कारण गुगलको विस्तृत डाटा निर्यात अनुरोध वर्षौंसम्म अस्वीकार गर्दै आएको थियो । ती प्रतिबन्धका कारण दक्षिण कोरिया त्यस्ता थोरै देशमध्ये पर्दै आएको थियो जहाँ विश्वव्यापी रूपमा लोकप्रिय गुगल नक्साको प्रयोग सीमित थियो। फलस्वरूप, स्थानीय प्रयोगकर्ताहरू प्रायः नाभर र काकाओजस्ता स्वदेशी इन्टरनेट कम्पनीका सेवामा निर्भर रहँदै आएका थिए।

आलोचकहरूले भने ती प्रतिबन्धका कारण विदेशी आगन्तुकहरूमा असन्तुष्टि बढेको र पर्यटन क्षेत्रमा नकारात्मक असर परेको तर्क गर्दै आएका थिए । दक्षिण कोरिया आफूलाई प्रमुख अन्तर्राष्ट्रिय यात्रा गन्तव्यका रूपमा स्थापित गर्न खोजिरहेका बेला गुगल नक्साको सीमित प्रयोगले प्रत्यक्ष असर पारेको हुनसक्ने उनीहरूको भनाइ थियो। रासस/एपी

प्रकाशित: १५ फाल्गुन २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार