
काठमाडौं ।
अमेरिकी वायुसेनाले यूनाइटेड लञ्च अलाएन्स (यूएलए) को भल्कन सेन्टाउर रकेटमा बुस्टर समस्या दोहोरिएपछि राष्ट्रिय सुरक्षा सम्बन्धी सबै प्रक्षेपण अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ।
भल्कन सेन्टाउरले जनवरी २०२४ मा पहिलो उडान गरेको थियो र हालसम्म चार पटक प्रक्षेपण गरिसकेको छ। तीमध्ये दुई उडानमा उडानका क्रममा ठोस रकेट बुस्टरमध्ये एउटामा समस्या देखिएको थियो। दुवै अवस्थामा रकेटको कोर–स्टेज इन्जिनले क्षतिपूर्ति गरेर मिसन सफल बनाएको भए पनि समस्या दोहोरिएपछि स्पेस फोर्सले थप अनुसन्धान नभएसम्म आफ्ना तय भएका प्रक्षेपणहरू स्थगित गरेको हो।
स्पेस फोर्सका कर्नेल एरिक जार्यब्निस्कीले फेब्रुअरी २५ मा एयर फोर्स एसोसियशन्स वारफेयर सिम्पोजियमका क्रममा पत्रकारहरूसँग कुरा गर्दै प्राविधिक समस्या पत्ता लगाउन र सुधारात्मक कदम चाल्न धेरै महिना लाग्न सक्ने बताएका छन्। समस्या समाधान नभएसम्म भल्कन सेन्टाउरमार्फत प्रक्षेपण नहुने उनले स्पष्ट पारे।
स्पेस डटकमका अनुसार भल्कनको पछिल्लो प्रक्षेपण फेब्रुअरी १२ मा भएको थियो। यूएसएसएफ – ८७ नाम दिइएको उक्त राष्ट्रिय सुरक्षा मिसनले अमेरिकाको जियोसिंक्रोनश स्पेस सिचुयशनल अवेरनेस प्रोग्राम (जीएसएसएपी) का लागि दुई जासुसी उपग्रह बोकेको थियो। उडान सुरु भएको करिब २० सेकेन्डपछि चारमध्ये एक ठोस रकेट बुस्टरमा समस्या देखिएको थियो तर रकेटका दुई बीई – ४ पहिलो चरणका इन्जिनले त्यसलाई सम्हालेका थिए।
दुवै उपग्रह सुरक्षित रूपमा जियोसिन्क्रोनस ट्रान्सफर कक्षमा पुर्याइएका थिए र पृथ्वीमाथि स्थिर देखिने स्थानमा सफलतापूर्वक तैनाथ गरिएको थियो।
यसअघि अक्टोबर २०२४ मा भएको राष्ट्रिय सुरक्षा पेलोड प्रमाणीकरण उडानका क्रममा पनि यस्तै समस्या देखिएको थियो। त्यतिबेला एक बुस्टर नोजलमा उत्पादन त्रुटि हुँदा उडानको दिशा केही समयका लागि बिग्रिएको थियो। पछिल्लो यूएसएसएफ-८७ मिसनमा ठ्याक्कै के कारणले समस्या आयो भन्नेबारे यूएलएले अनुसन्धान गरिरहेको छ।
आगामी केही वर्षमा यूएलएले दुई दर्जनभन्दा बढी राष्ट्रिय सुरक्षा प्रक्षेपणका लागि भल्कन सेन्टाउर बुक गरिसकेको छ। यस्तो अवस्थामा अस्थायी रोकले कम्पनीलाई असर पार्न सक्छ।
प्रकाशित: १५ फाल्गुन २०८२, शुक्रबार