
काठमाडौं ।
चीनको सबैभन्दा ठूलो सर्च इन्जिन कम्पनी बाइडुले डिसेम्बर त्रैमासिक आम्दानीमा ४ प्रतिशत गिरावट आएको जनाएको छ। मुख्य विज्ञापन व्यवसाय कमजोर हुँदा कुल आम्दानी घटेको हो। तर क्लाउड व्यवसायको मजबुत वृद्धिले केही हदसम्म क्षति पूर्ति गरेको छ।
चीनका अन्य ठूला प्रविधि कम्पनीहरू जस्तै बाइडुले पनि कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा ठूलो लगानी गरेको छ। कम्पनीहरूले काम छिटो र प्रभावकारी बनाउन एआई प्रयोग बढाउँदै जाँदा बाइडुले यसबाट फाइदा उठाएको छ।
अमेरिकामा सूचीकृत बाइडुको शेयर प्रि–मार्केट कारोबारमा करिब ३ प्रतिशतले घटेको थियो। बाइडुको मुख्य आम्दानी स्रोत विज्ञापन व्यवसाय हो, तर कडा प्रतिस्पर्धाका कारण यो क्षेत्र सुधार हुन सकेको छैन। कमजोर उपभोक्ता माग र लामो समयदेखि जारी घरजग्गा क्षेत्रको संकटले चीनको अर्थतन्त्रलाई असर पारेको छ, जसले विज्ञापन खर्च घटाएको छ।
चौथो त्रैमासिकमा बाइडुको एआई आधारित मुख्य व्यवसाय (जसमा क्लाउड सेवा, एआई एप्लिकेसन र रोबोट्याक्सी सेवा समावेश छन्) बाट ११ अर्ब युआन (करिब १.६१ अर्ब अमेरिकी डलर) आम्दानी भएको छ। यो कम्पनीको कुल आम्दानीको ४३ प्रतिशत हो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत रोबिन लीले एआई अब “बाइडुको नयाँ मुख्य आधार” बनेको बताएका छन्। उनले कम्पनीको क्लाउड सेवाले धेरै उद्यमहरूको विश्वास जित्दै गएको र ‘मियाओदा’ जस्ता एआई एपहरू प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएको बताए।
रोयटर्सका अनुसार डिसेम्बरमा समाप्त त्रैमासिकमा कम्पनीको कुल आम्दानी ३२.७४ अर्ब युआन रहेको छ, जुन विश्लेषकहरूले अनुमान गरेको ३२.६२ अर्ब युआनभन्दा थोरै बढी हो।
सोही अवधिमा कम्पनीको खुद नाफा १.८ अर्ब युआन रहेको छ। प्रतिशेयर आम्दानी १०.६२ युआन पुगेको छ, जुन विश्लेषकहरूको ९.२५ युआनको अनुमानभन्दा बढी हो।
यस महिनाको सुरुवातमा बाइडुले ५ अर्ब अमेरिकी डलर बराबरको नयाँ शेयर पुनर्खरिद कार्यक्रम घोषणा गरेको थियो। साथै, कम्पनीले पहिलो पटक लाभांश नीति पनि सार्वजनिक गरेको छ। कम्पनीले यसै वर्षको अन्त्यसम्म पहिलो लाभांश वितरण गर्ने जनाएको छ।
प्रकाशित: १५ फाल्गुन २०८२, शुक्रबार