आर्टेमिस २ मर्मतका लागि ह्याङ्गरमा फिर्ता, अब कहिले होला उडान?

  • Technology Khabar | १५ फाल्गुन २०८२, शुक्रबार
आर्टेमिस २ मर्मतका लागि ह्याङ्गरमा फिर्ता, अब कहिले होला उडान?

काठमाडौं ।

चार अन्तरिक्ष यात्रीहरूले चन्द्रमातर्फको ऐतिहासिक यात्राका लागि अझ केही समय कुर्नुपर्ने भएको छ।

उनीहरूलाई लैजाने रकेट स्पेस लञ्च सिस्टम (एसएलएस) लाई फेब्रुअरी २५ मा फ्लोरिडास्थित नासाको केनेडी स्पेस सेन्टरको लञ्च कम्प्लेक्स-३९बी बाट फिर्ता गरेर भेइकल एसेम्ब्ली बिल्डिङ (भीएबी) मा लगिएको छ। अहिले रकेट भीएबीको हाइ बे ३ मा सुरक्षित रूपमा राखिएको छ, जहाँ इन्जिनियरहरूले माथिल्लो चरणमा देखिएको समस्या समाधान गर्ने काम सुरु गर्नेछन्।

स्पेस डटकमका अनुसार यो निर्णय आर्टेमिस २ अभियानका लागि झट्का बनेको छ। उक्त मिसनमा नासाका अन्तरिक्ष यात्री रेइड वाइजम्यान, भिक्टर ग्लोभर र क्रिष्टिना कोच तथा क्यानाडेली अन्तरिक्ष यात्री जेरेमी हान्सन सहभागी हुनेछन्। उनीहरूलाई १० दिनको चन्द्रमा परिक्रमा यात्रामा पठाउने लक्ष्य राखिएको थियो।

नासाले मार्च ६ बाट खुल्ने प्रक्षेपण समयावधि लक्षित गरेको थियो। तर हेलियम प्रवाहमा समस्या देखिएपछि प्रक्षेपण मिति अब “अप्रिलभन्दा अघि होइन” मा सरेको छ। समस्या फेब्रुअरी २०–२१ को रात फेला परेको थियो, जुन पूर्ण इन्धन भरेर गरिएको “वेट ड्रेस रिहर्सल” परीक्षणपछि देखिएको हो।

नासाका प्रशासक ज्यारेड आइज्याकम्यानले एक्समा लेख्दै नियमित प्रक्रियाका क्रममा एसएलएसको इन्टरिम क्रायोजेनिक प्रोपल्सन स्टेजमा हेलियम प्रवाह हुन नसकेको बताएका थिए। हेलियम ट्यांकहरू भीएबी भित्र हुँदा मात्र पहुँचयोग्य भएकाले रकेट फिर्ता ल्याउने निर्णय गरिएको हो।

यसअघि सन् २०२२ मा आर्टेमिस १ अभियानका बेला पनि हाइड्रोजन चुहावटलगायत समस्या आएका थिए। त्यो अभियानका लागि रकेटलाई भीएबी र प्रक्षेपणस्थलबीच तीन पटक ओहोरदोहोर गरिनुपरेको थियो, त्यसपछि मात्र नोभेम्बरमा सफल प्रक्षेपण गरिएको थियो। यसपटक भने नासाले पटक–पटक फिर्ता ल्याउने अवस्था नआओस् भन्ने अपेक्षा गरेको छ।

आर्टेमिस २ का प्रक्षेपण निर्देशक चार्ली ब्ल्याकवेल थम्सनले बिहान ९:२८ बजे (ईएसटी) रकेट फिर्ता लैजाने आदेश दिएका थिए। करिब १० मिनेटपछि ३२२ फिट अग्लो एसएलएस रकेट नासाको क्रलर-ट्रान्सपोर्टर २ सवारीमा राखेर ४ माइल (६.४ किलोमिटर) दूरी तय गर्दै भीएबी तर्फ लगिएको थियो। करिब १ माइल प्रतिघण्टा गतिमा अघि बढेको यो यात्रा करिब १०.५ घण्टामा सम्पन्न भएको थियो।

अब भीएबीभित्रै समस्या पहिचान र मर्मत गरिनेछ। नासाको लक्ष्य अप्रिल १ बाट खुल्ने नयाँ प्रक्षेपण समयावधिलाई ध्यानमा राख्दै रकेट पुनः एलसी-३९बी मा लैजाने र आवश्यक परीक्षण पूरा गर्ने रहेको छ।

प्रकाशित: १५ फाल्गुन २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार