
काठमाडौं ।
काठमाडौंमा आज ‘डिजिटल लिडरसीप डायलग’को दोस्रो संस्करण आयोजना हुने भएको छ। आइसिटी फाउन्डेसन नेपालले फागुन १५ गते अर्थात् आज शुक्रबार नक्सालस्थित लिसारा रिसेप्सनमा ‘उम्मेदवार मेला २०२६’ अन्तर्गत डिजिटल लिडरसीप डायलग आयोजना गर्न लागेको हो। कार्यक्रम बिहान साढे ८ बजेदेखि सुरु हुनेछ।
कार्यक्रममा राजनीतिक दल र उम्मेदवारहरूले आफ्नो घोषणापत्रमा समावेश गरेका सूचना प्रविधि र डिजिटल रूपान्तरणसम्बन्धी प्रतिबद्धताहरूलाई कसरी कार्यान्वयनमा लैजाने भन्ने विषयमा केन्द्रित छलफल हुनेछ। सुरुवातमा घोषणापत्रका विषयवस्तुमाथि समग्र बहस गरिनेछ भने त्यसपछि दुई वटा प्यानल संवाद सञ्चालन हुनेछन्।
आयोजकका अनुसार पहिलो प्यानल संवादमा डिजिटल प्रतिबद्धताको कार्यान्वयन, जवाफदेहिता, बजेट विनियोजन तथा सुशासनका आयाममाथि विस्तृत छलफल गरिनेछ।
दोस्रो प्यानल छलफल युवा नेतृत्व र डिजिटल एजेन्डामा केन्द्रित हुनेछ, जसमा आसन्न निर्वाचनको सन्दर्भमा युवाको भूमिका र डिजिटल प्राथमिकताबारे बहस हुनेछ। कार्यक्रममा सहभागीहरूसँग अन्तरक्रियात्मक प्रश्नोत्तर सत्र तथा समापनसँगै निष्कर्ष प्रस्तुत गरिनेछ।
कार्यक्रममा राजनीतिक दल, उम्मेदवार, विज्ञ, युवा, नागरिक समाज, सञ्चार माध्यम, महिला, सीमान्तकृत समुदाय र अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहनेछ।
यसअघि फाउन्डेसनले माघ २२ गते पहिलो संस्करणको डिजिटल लिडरसीप डायलग आयोजना गर्दै राजनीतिक दल तथा उम्मेदवारहरूले घोषणापत्रमा समावेश गर्नुपर्ने डिजिटल एजेन्डामाथि फोकस ग्रुप छलफल, विज्ञ प्रस्तुति र प्यानल डिस्कसन सञ्चालन गरेको थियो।
साथै सातै प्रदेशका उम्मेदवारहरूसँग भर्चुअल संवादमार्फत डिजिटल रूपान्तरणका चुनौती र समाधानका विषयमा छलफलसमेत गरिएको थियो।
यस कार्यक्रमले डिजिटल रूपान्तरण, नीति निर्माण र प्रभावकारी कार्यान्वयनबीचको खाडल कम गर्दै व्यावहारिक परिणाम हासिल गर्ने दिशामा सार्थक संवाद अघि बढाउने विश्वास लिएको फाउन्डेसनको भनाइ छ।
प्रकाशित: १५ फाल्गुन २०८२, शुक्रबार