
काठमाडौं ।
अल्फाबेट इंकको स्वामित्वमा रहेको रोबोटिक्स सफ्टवेयर कम्पनी इन्ट्रिन्सिक अब गुगल सँग आबद्ध हुने भएको छ। बुधबार गरिएको घोषणाअनुसार इन्ट्रिन्सिक गुगल भित्रै छुट्टै इकाइका रूपमा रहनेछ तर गुगल डीपमाइण्डसँग नजिकबाट काम गर्नेछ र गुगलका जेमिनी एआई मोडेल तथा क्लाउड सेवाहरू प्रयोग गर्नेछ।
अल्फाबेटले लगानी वा खरिद मूल्यबारे कुनै विवरण सार्वजनिक गरेको छैन।
इन्ट्रिन्सिक सन् २०२१ मा अल्फाबेटको “मुनशट” अनुसन्धान डिभिजन एक्सभित्र पाँच वर्ष विकास भएपछि स्वतन्त्र अल्फाबेट स्वामित्वको कम्पनीका रूपमा छुट्टिएको थियो।
टेकक्रञ्चका अनुसार एक्सबाट छुट्टिएका अन्य कम्पनीहरूमा रोबोट्याक्सी कम्पनी वेमो र ड्रोन डेलिभरी कम्पनी विङ पनि छन्। इन्ट्रिन्सिक को स्पिनआउटपछि सन् २०२१ देखि वेण्डी टान व्हाइटले प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा नेतृत्व गरिरहेकी छन्।
स्वतन्त्रता घोषणा गरेको केही महिनापछि नै इन्ट्रिन्सिकले अप्रिल २०२२ मा रोबोटिक्स सफ्टवेयर कम्पनी भाइकारियसलाई अधिग्रहण गरेको थियो। खरिद मूल्य सार्वजनिक नगरिए पनि भाइकारियसले जेफ बेजोसजस्ता लगानीकर्ताबाट करिब २५ करोड डलर लगानी जुटाएको थियो।
त्यसको केही महिनापछि इन्ट्रिन्सिक ले गैरनाफामूलक संस्था ओपन रोबोटिक्सका केही नाफामूलक डिभिजनहरू पनि अधिग्रहण गरेको थियो।
तीव्र विस्तारका बाबजुद कम्पनीले जनवरी २०२३ मा करिब २० प्रतिशत कर्मचारी कटौती गरेको थियो। त्यसको केही महिनापछि इन्ट्रिन्सिक ले आफ्नो पहिलो उत्पादन “फ्लस्टेट” सार्वजनिक गरेको थियो। यो सफ्टवेयर प्लेटफर्म रोबोटिक्सको गहिरो अनुभव नभएका विकासकर्तालाई लक्षित गर्दै रोबोटिक्स कार्यप्रवाह विकास गर्न डिजाइन गरिएको हो।
त्यसयता कम्पनीले आफ्नो प्रविधि परिमार्जन गर्दै सिमुलेसन क्षमता सुधार गरेको छ र सन् २०२५ को अन्त्यतिर “इन्ट्रिन्सिक भिजन एआई” मोडेल सार्वजनिक गरेको छ। अक्टोबर २०२५ मा इन्ट्रिन्सिक ले इलेक्ट्रोनिक्स निर्माता फक्सकनसँग संयुक्त उद्यम घोषणा गरेको थियो, जसअन्तर्गत पूर्ण कारखाना स्वचालन लक्ष्यसहित सामान्य प्रयोजनका बुद्धिमान रोबोट विकासमा सहकार्य गरिनेछ।
अब गुगलसँगको नजिकको सहकार्यले कम्पनीलाई भौतिक एआई क्षेत्रमा अझ अघि बढ्न मद्दत गर्ने अपेक्षा गरिएको छ। कम्पनीकी सीईओ वेण्डी टान व्हाइटले ब्लग पोस्टमा लेखेकी छन् कि गुगल को एआई र पूर्वाधारसँगको संयोजनले उत्पादन प्रणालीमा मौलिक परिवर्तन ल्याउनेछ र उन्नत उत्पादन सम्भव बनाउनेछ।
यस कदमले गुगल का लागि रणनीतिक अर्थ राख्छ। जेन्सेन हुआङ र क्रिश्टियानो आमोनजस्ता धेरै प्रविधि दिग्गजले भौतिक एआईलाई एआई मोडेलको व्यावसायीकरण र विकासको अर्को चरणका रूपमा हेर्दै आएका छन्।
प्रकाशित: १४ फाल्गुन २०८२, बिहीबार